चितवन। चितवनको त्रिशुली नदीमाथि पक्की पुल निर्माण गर्न शुरु भएको ७ वर्षमा पनि पूरा भएको छैन। भरतपुर महानगरपालिका–१ ठिमुराबाट तनहुँको देवघाट गाउँपालिका घिनटार जोड्न पुल निर्माण शुरु गरिएको ७ वर्षमा पनि पूरा हुन नसकेको हो।
पुल अनिश्चित भएपछि ठिमुरा चितवन देवघाट पक्की पुल निर्माण उपभोक्ता समितिले संघर्ष गर्ने चेतावनी दिएको छ । समितिले पुल निर्माणमा हदैसम्म लापरबाही गरिएको भन्दै अब संघर्षको विकल्प नभएको जनाएको छ।
समितिका अध्यक्ष टंकनाथ पौडेलले भने, ‘हामीले पटक पटक तनहुँ चितवनका सबै जसो ठूला नेता, सडक डिभिजन कार्यालय, स्थानीय प्रशासन, पालिका प्रमुखहरूलाई भन्यौं, गुनासो पोख्यौं तर कहिँ कतैबाट पुल अगाडि बढाउनेतर्फ अग्रसरता लिएको देखिएन, अब हाम्रो धैर्यता सकियो।’
उनले पुल बनाउन ढिला गर्ने, गुणस्तरहीन काम गर्ने, पेटी ठेक्का लगाएर झुलाउने काम गर्दा पनि सडक डिभिजन कार्यालयले कारबाही नगरेको बताए । फागुनको पहिलो हप्तासम्म द्रूत गतिमा काम नथाले सडक डिभिजन कार्यालयमा उपभोक्ताहरू आएर ताला लगाउने समितिले चेतावनी दिएको छ ।
पुल निर्माणको क्रममा दुईपटक भत्किसकेको छ। पुल भत्किँदा दुई कामदारको मृत्यु भएको थियो भने केही घाइते पनि भएका थिए। पुल भत्किएर दुर्घटना भएपछि निर्माणको काम झन अनिश्चित बनेको हो।
यो पुल बनाउन २०७१ कात्तिक २० मा निर्माण कम्पनीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार तीन वर्षभित्र अर्थात २०७४ कात्तिक १९ सम्म पुल बनिसक्नु पर्ने थियो । तर, सम्झौता सकिए पनि विभिन्न बहानामा चार पटकसम्म म्याद थप गर्दै आएको निर्माण कम्पनीको म्याद २०७८ असार १२ सम्म तोकिएको थियो। तर, कोभिड–१९ को महामारीका कारणले २०७८ चैतसम्मको समय दिइएको छ ।