काठमाण्डौं। कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोला–घाचोकमा पक्की मोटरेबल पुल निर्माण हुने भएको छ। पुल निर्माण हुने भएपछि यस क्षेत्रका स्थानीय उत्साहीत देखिन्छन्।
गाउँपालिकाको केन्द्र जोड्ने सार्दिखोला–घाचोक सेती नदीमा मोटरेबल पुल नहुँदा सार्दिखोलावासीले हैरानी व्यर्होदै आए पनि अहिले दुई वडा जोड्ने गरी सेती नदीमा पक्की मोटरेबल पुलको काम सुरु भएको छ। पुलको काम धमाधम हुँदै गर्दा सार्दिखोलावासी पनि उत्साहित भएका छन्। आफ्नै गाउँपालिकाको कार्यालयसम्म जान पनि निकै सास्ती थियो। पन्ध्र मिनेटमा पुगिने कार्यालय जान पुरुन्चौर हुँदै घुमरे जाँदा एक घण्टा समय लाग्ने गरेकामा पुलको काम सुरु भएपछि वडावासीमा खुसी छाएको छ।
सार्दिखोलावासीले विसं २०७४ स्थानीय तह पुनःसंरचनाका बेलैमा सेती नदीमाथि रातोपानीमा पुल बन्नुपर्ने माग उठाएका थिए। तत्कालीन जिल्ला विकास समितिबाट पुल निर्माणको प्रतिबद्धतापछि सार्दिखोलावासीले माछापुच्छ्रेमा मिसिन तयार भए पनि प्रतिबद्धताअनुसार पुल नबनेपछि निरास बनेका थिए।
गण्डकी प्रदेश सरकार स्थापनापछि पहिलो वर्षमा पुलको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) का लागि ७५ लाख विनियोजन गरिएको थियो। तर पटक-पटक डिजाइन परिर्वतन भएपछि पुलको काम अघि बढ्न सकेको थिएन। अहिले पुलको काम धमाधम सुरु भएको छ।
प्रदेश सरकारको १० करोड २८ लाख ५७ हजार लागतमा ७० मिटर लामो र साढे १० मिटर फराकिलो पुलको काम सुरु भएको हो। अहिलेसम्म पुलको २० प्रतिशत आर्थिक र १० प्रतिशत भौतिक प्रगति भएको बताइएको छ। उक्त पुल निर्माणको जिम्मा हिमदुङ थोकर, रामजानकारी जेभी काठमाडौंले पाएको छ। विसं २०८० साउन २४ गतेभित्रमा काम सम्पन्न गर्ने गरी गत साउन २५ गते सम्झौता भएको हो।
उक्त पुलको निर्माण पछी सार्दिखोला, घाचोक, लाहाचोक र साविक माछापुच्छ्रे गाविससहित पोखराको उत्तर–पश्चिम क्षेत्रका नागरिकसमेत लाभान्वित हुने बताइएको छ। धेरै मेहेनतपछि यस वर्ष उक्त पुलको स्रोत सुनिश्चित भएको बताइएको छ। सोहि पुल निर्माण भएसँगै गाउँपालिकाका नौवटा वडा हिउँद/बर्खामा पनी सडक सञ्जालबाट जोडिने छन्।