बुटवल। राजमार्ग क्षेत्रको भीड र दुर्घटनाको जोखिम कम गर्न बुटवलमा बाइपास सडक निर्माण सुरु गरिए पनि काम सुस्त भएको छ। अतिक्रमणले साँघुरिएको सडकलाई ८२ फुटमा विस्तार गर्ने गरी ३ वर्षअघि कालिकापथ सडक निर्माण सुरु गरिएको हो।
सडकमा बुटवल उपमहानगर र लुम्बिनी प्रदेशका दुई मन्त्रालयले काम गरिरहेका छन्। अन्तर सरकारी निकायबीच समन्वय नहुँदा निर्माणाधीन सडक लथालिंग बनेको छ। अहिलेसम्म २१ प्रतिशत काम भएको छ।
बुटवलको योगीकुटीदेखि नेपालगन्ज रोडसम्मको बाइपास सडक करिब साढे ३ किलोमिटर लम्बाइको रहेको उक्त सडक आसपासमा निर्माण सामग्री जथाभावी फालिएका छन्। बिस्तारका गर्ने भनी भत्काइएको सडकमा खाल्डैखाल्डा छन्। सवारी मात्र होइन, पैदल हिंड्नसमेत समस्या छ। वर्खामा हिलाम्य र हिउँदमा धुलाम्य हुने गरेको बताइएको छ।
दुई लेनको सडकलाई चार लेन बनाउने गरी आर्थिक वर्ष २०७६/०७७ मा बुटवल उपमहानगरले काम सुरु गरेको थियो। त्यसमा सडक क्षेत्रका संरचना भत्काउने र नाली निर्माणको जिम्मा उपमहानगरले लिएको छ।
सडक क्षेत्र खाली गर्ने जिम्मा बुटवल उपमहानगरपालिकाको हो । तर, अहिलेसम्म कालिका मन्दिर हुँदै नेपालगन्ज रोडसम्मको सडक खाली भएको छैन। त्यहाँको २ सय मिटर सडक विस्तार गर्दा विद्यालय नै भत्काउनुपर्ने भएपछि यसको विकल्पबारे छलफल भइरहेको उपमहानगरले जनाएको छ। उपमहानगरको जिम्मामा परेको सडक आसपासका संरचना हटाएर नाली निर्माणमा करिब ५ करोड रुपैयाँ खर्च भएको छ।
सडकलाई चार लेनको बनाउने काम भौतिक पूर्वाधार विकास मन्त्रालयले गरेको हो। २२ करोड ५० लाख खर्च हुने अनुमान गरिएको उक्त सडक बिरुवा, कालिगण्डकी, सिद्धार्थ जेभीले १५ करोड ९१ लाख ९९ हजार रुपैयाँमा ठेक्का लिएको थियो। २४ महिनामा सक्ने गरी ०७७ माघ २० मा ठेक्का सम्झौता भएको हो। यसैगरी सडकको डिजाइन अनुसार होराइजन चोक र तीनकुनेमा दुईवटा स्ल्याब कल्भर्ट निर्माण सकिएका छन्। सडक क्षेत्रभित्रका संरचना हटाउने र सडकसँगै बन्ने नाली, फुटपाथलगायतका आयोजनासँग तालमेल नमिल्दा काममा ढिलाइ भएको बताइएको छ।