काठमाडौं। काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले उपत्यकाको फोहोर विसर्जनका लागि तत्काल समस्या समाधानको खोजी गर्न संघीय सरकारलाई आग्रह गरेका छन्।
पासाङल्यामु राजमार्ग निर्माणमा ढिलासुस्ती र लावरवाही भएको भन्दै पीडित स्थानीयले आइतबारदेखि सडक अवरुद्ध गर्दै ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनमा समेत अवरोध गरेपछि प्रमुख शाक्यले संघीय सरकारको ध्यानाकर्षण गराएका हुन्।
मेयर शाक्यले फोहोरमा कसैले राजनीति गर्न नहुँने बताउँदै तत्काल समस्या समाधान गर्न संघीय सरकारसँग आग्रह गरेका छन्।
उनले भने, ‘स्थानीयको आन्दोलनका कारण फोहोर विसर्जनमा अवरोध भएपछि काठमाडौँ महानगरपालिका मात्रै होइन सम्पूर्ण उपत्यकाकै फोहोर उठ्न नसक्दा दुर्घन्ध फैलिएर थप समस्या हुनसक्छ । त्यसैले संघीय सरकारसँग तत्काल समस्याको समाधान खोजी फोहोर विसर्जनको अवरोध हटाउन आग्रह गर्दछु।’
उनले ०७० सालदेखि शुरु गरेको बाटो अहिलेसम्म बन्न नसक्दा त्यहाँ पटक–पटक स्थानीयले आन्दोलन गर्ने र फोहोर विसर्जनमा समेत अवरोध हुने गरेको पनि स्मरण गराए । उनले समस्या समाधानका लागि सबैभन्दा पहिला त्यहाँको बाटो छिटो निर्माण सम्पन्न गर्न सम्वन्धित निकायले पहल गर्नुपर्ने बताए।
उनले त्यहाँको बाटो बनाउने जिम्मेवारी संघीय सरकारको भए पनि उपत्यकाको फोहोर पटक–पटक रोकिँदा गाली काठमाडौं महानगरपालिकाले खानुपरेको पनि बताए । उनले भने, ‘अहिले पनि कोरोनाको कहर हटेको छैन । यस्तो बेलामा सडकमा फोहोर थुप्रिने हो भने अन्य रोग फैलिने खतरा बढी हुन्छ। त्यसैले फोहोरको राजनीति कसैले नगरौँ । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरौँ।’
शाक्यले बञ्चरेडाँडाको अहिलेसम्म निर्माण कार्य पूरा नहुँदा थप समस्या हुने पनि बताए । सरकारले समयमा निर्माण सम्पन्न नगर्ने हो भने अहिले फोहोर विसर्जन गरिरहेको स्थान सिसडोलमा फोहोर व्यवस्थापन गर्न कठिनाइ भई आउँदो असार–साउनबाट फोहोर विसर्जनमा थप समस्या सिर्जना हुने उनको भनाइ छ।