काठमाडौं। ताजमहल अर्थात रानी तेजकुमारीको सम्झनामा खड्गशम्शेरले बनाइदिएको महल जसलाई सबैले रानीमहल भनेर चिन्ने गर्दछन्। आखिर यो महल किन बन्यो, यसको चर्चा यहा गरौ।
खड्गशम्शेर, धिरशम्शेरको साहिली रानी नन्दकुमारीबाट जन्मेको प्रथम सन्तान थिए। बि.सं. १९४२ मंसिर ९ गते आइतवार पुर्णिमाको उज्यालो रात खड्गशम्शेरले आफ्नै काका रणोदीप सिंह कुँवरलाइ गोली हानेका थिए। यस रात केवल काका रणोदीपको मात्र हत्या भएन, सिङ्गो जङ्ग खलकलाइ नै निशाना बनाइयो। यस रात कति मारिए कति भागे। यसरी ४२ साल पर्वको घटना पछि शम्शेर खलक सत्तामा पुग्यो। धिरशम्शेरका जेठा छोरा वीरशम्शेर प्रधानमन्त्री बने। काकालाइ पहिलो गोली हान्ने खड्गशम्शेर प्रधान सेनापति बने।
यसरी प्रधान सेनापति बनेका खड्गलाइ छिटो प्रधानमन्त्री बन्ने चाह बढ्न थाल्यो। यसको भनक पाएका वीरशम्शेरले बि.सं.१९४३ फागुन २० गते कैद गराइ ठाडा (पाल्पा देखी पश्चिम दुर्गम गाँउ) मा नजरबन्दमा राखे। त्यसको केही समय पछि खड्गले माफी मागि पठाए पछि बि.सं. १९४५ मा पाल्पाकै वडाहाकिम बनाइए।
पाल्पाको वडाहाकिम भए पछि परिवार सहित पाल्पा गौडामा बस्न थाले। यहि बसाइमा बि.सं. १९४९ मा उनका प्रिय कान्छी रानी तेजकुमारी बिरामी भइन्। नेपाल भारतका धेरै बैध्य तथा डाक्टरको उपचार पछि पनि निको भएन। उनलाइ घाट चलाइयो, बौघागुम्बा गाँउको काली किनारको शिलामा राखियो। यहि शिलामा नै उनको देहावसान भयो। यस शोकले गर्दा व्याकुल रहेका खड्गशम्शेरले रानी तेजकुमारीले अन्तिम स्वास फेरेको त्यहि स्थानलाई रानीघाट नामाकरण गराए तथा सोही स्थानमा महल बनाउने निधो गरे। भारतबाट बोलाइएका अंग्रेज डिजाइनर तथा आर्किटेक्टबाट दरवार तैयार भयो। यस दरवारमा २४ वटा कोठाको साथमा सुसारे कोठा, घोडाको लागी तवेला, भान्सा घर, भक्तिनी घर, खण्डमुक्तेश्वर महादेवको मन्दिर, दुईवटा पोखरी, शितल पाटी तथा बगैचा बनाइएको थियो। तेजमहल नामाकरण भएको यस दरवारको सबैभन्दा माथिल्लो बुर्जामा रानी तेजकुमारी शरणम लेख्न लगाए। १९५० मा निर्माण थालिएको यस दरवार तैयार हुन झण्डै चार वर्ष लाग्यो। दरवारको लागी अत्याधुनिक सजावतका सामग्रीहरू पनि बिदेशबाट ल्याइएको थियो।
बि.सं. १९५३ मा अंग्रेज सरकारको तर्फबाट त्यसबेलाको भारतीय पुरातत्व सर्वेक्षण को लखनउको म्यूजियममा कार्यरत एलोइस एन्टोन फुरेर लाइ नेपालको लुम्बिनीको अध्ययन गर्दा खड्गशम्शेरले निकै सघाएका थिए। चन्द्रशम्शेरले दाजु देवशम्शेरलाइ सत्ताच्युत गरि धनकुटा धपाए। तर देवशम्शेर धनकुटा धेरै बसेनन्। त्यसपछि खड्गशम्शेर वडाहाकिम भएर धनकुटा पुगे तर बि.सं. १९५९ मा स्थानिय कामदारबाट श्रीपेच बनाउन लगाएको आरोपमा चन्द्रशम्शेरले धनकुटाबाट मात्र नभै देशबाटै निस्कासित भएपछि उनि भारत मध्यप्रदेश भोपाल देखी १७२ कि.मी पूर्वमा रहेको सागरमा गएर बसे। त्यहा उनले नेपाल दरवार नामाकरण गरेर दरवार पनि बनाए। जीवनको उकाली ओराली देखेका खड्गशम्शेर कतिपय षडयन्त्रको शिकार भए। सागरमा उनको सम्पूर्ण परिवार सुखपूर्ण रूपमा रहे। प्रजातन्त्र पछि नेपाल फर्केका उनको छोरा नाति उच्च पद ओगट्न सफल रहे। खड्गशम्सेरको साहिली छोरी चुडा दिव्यश्वरीको बिबाह ठाकुर महेन्द्रसिंहसंग भएको थियो। उनिहरूका एक मात्र छोरी लेख दिव्येश्वरीको बिबाह ग्वालियरका राजा जिवाजीराव सिंधियासंग भएको थियो। खड्गशम्सेरका नातिनी लेख दिव्येश्वरी नै विजय राजे सिंधियाको नामले भारतिय राजनीतिमा निकै छाए। उनका छोरा माधवराव सिंधिया पनि भारतका प्रमुख राजनीतिज्ञ हुनुहुन्थ्यो भने छोरी उषा राजेको पशुपति शम्शेर संग बिबाह भएको थियो अर्की छोरी वसुन्धरा राजे राजस्थानका मुख्य मन्त्री हुनुहुन्छ।