काठमाण्डौं। नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नयाँ भवनको एक समारोहबीच सोमबार शिलान्यास गरिएको छ। अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण थालिएको हो।
उक्त भवनको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन्। अस्पतालले १४ करोड ३५ लाख खर्च गरेर सुविधासम्पन्न भवन बनाउन लागेको हो। भवन निर्माणको पहिलो चरण अन्तर्गतको कामको लागि चार करोड १२ लाख ५० हजार ५९३ लागतमा काम सुरु गर्न लागेको अस्पतालले जनाएको छ।
भवन निर्माणको सम्पूर्ण काम सम्पन्न गर्नका लागि कूल १४ करोड ३५ लाख लाग्ने अनुमान गरिएको छ। बजेट अभाव भएका कारण हाललाई सुरुआतमात्रै गर्न खोजिएको नेपाल नेत्रज्योति सङ्घका सभापति एवं भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्षले जानकारी दिए।
निर्माण सुरु गरेको छ महिनामा पहिलो चरणको काम सम्पन्न गराउने लक्ष्य रहेको बताइएको छ। तीन तलाको उक्त भवन निर्माण सम्पन्न भएमा भुइँतलामा बच्चा (पेडियट्रिक) वार्ड, पहिलो तलामा जनरल वार्ड र दोस्रो तलामा शल्यक्रिया कक्ष (अपे्रशन थिएटर) सञ्चालन हुनेछ।
विसं २०४४ चैत १८ गते आँखा रोगको निदान एवं उपचारको उद्देश्य राखेर स्थापना भएको अस्पतालले बिरामीको चाप बढ्दै गएपछि नयाँ भवन निर्माण गर्न लागेको हो। स्थापनाकालमा ३६ शय्याबाट सेवा दिएको अस्पतालमा मोतियाविन्दुको शल्यक्रिया, जलविन्दुको शल्यक्रिया, क्यालेजियन टेरिजियम र अन्य आँखाका सामान्य रोगको निदान गरिनुका साथै चश्मा र औषधि सेवा उपलब्ध थिए।
अस्पतालले सेवा विस्तार गर्दै लगेको छ। हाल अस्पतालमा बहिरङ्ग सेवा, नयाँ बिरामी भर्ना सेवा, कर्नियाया सेवा, सामान्य बहिरङ्ग सेवा, जलविन्दु सेवा, दृष्टि पर्दा सेवा, आँखाको प्लाष्टिक सर्जरी सेवा, बाल आँखा रोग सेवा, जाँच तथा अन्य सेवा, चश्मा जाँच सेवा, सामान्य शल्यक्रिया, आँखा स्वास्थ्य परामर्श सेवालगायत सेवा उपलब्ध रहेको धरेलले जानकारी दिए ।
अस्पतालले सेवा विस्तार गर्ने क्रममा विभिन्न ठाउँमा शाखा तथा उपशाखा सञ्चालन गरेको छ। ती सबै शाखा तथा उपशाखामा दैनिक करिब सातदेखि आठ सय जनासम्मले सेवा लिँदै आएका छन्। अस्पतालले केही वर्षअघिदेखि आँखा बैंकसमेत स्थापना गर्ने योजनासहित आँखाको नानी प्रत्यारोपणमा काम गर्दै आएको छ।
भरतपुर आँखा अस्पतालमा मात्रै हाल दैनिक चारदेखि पाँच सय बहिरङ्ग सेवाका बिरामी आउने गरेका छन् भने १५ देखि २० जनाको शल्यक्रिया हुने गरेको छ। अस्पतालमा हाल ६२ शय्या सञ्चालनमा रहेका छन्। अस्पतालमा नवनिर्मित भवन निर्माणको काम सकिएसँगै एक सय शय्या थप हुने अस्पतालले जानकारी दिएको छ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले भवन निर्माणका लागि महानगरले एक करोड सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।