काठमाडौं। धादिङको धुनिबेसी नगरपालिकामा निर्माणाधीन नौविसे प्राथमिक अस्पतालको काम निर्माण कम्पनीले रोकेको छ। स्थानीय केही युवाहरुको समूहले आफ्ना मजदूरमाथि आक्रमण गरेको भन्दै उनीहरुमाथि कारबाहीको माग राखि निर्माण कम्पनी कविन्द्र नव सिर्जनशिल पि एम के जेभिले काम स्थगित गरेको हो।
कम्पनीले आयोजना प्रमुखको नाममा पत्र लेख्दै पटक पटक आफूहरुलाई काम रोक्न धम्कि आउने गरेको र सोमबार भने १७–१८ जनाको समूह नै निर्माण स्थलमा आएर मजदूरहरुमाथि रड प्रहार गरेर भागेको जनाएको छ। आफूहरुलाई ज्यान समेत मार्ने धम्की दिएर गएका मानिसलाई कानूनी कारबाही नगरेसम्म काम अघि नबढाउने भन्दै कम्पनीले कारबाहीको माग गरेको छ।
सोमबार स्थानीय युवाहरुको एउटा समूहले निर्माण स्थलमा नै गएर केही मजदूरमाथि रड प्रहार गरेका थिए। घटनाबाट ६/७ जना मजदूर सामान्य घाइते भएको निर्माण कम्पनीले जनाएको छ। उनीहरुले कहिले सामाग्री सप्लाईको काम माग्ने त कहिले कमिसन माग्ने गरेको र आफूहरुले वेवास्ता गरेका कारण पटक पटक धम्की दिँदै आएको समेत कम्पनीका सञ्चालक विदुर भुसालले बताए।
के भएको थियो?
धादिङको धुनिवेसी नगरपालिकामा कविन्द्र नव सिर्जनशिल पि एम के जेभिले नौविसे प्राथमिक अस्पताल निर्माण गरिरहेको छ। फागुन २ गते सोमबार निर्माणस्थलमा स्थानीय १७/१८ जना युवाहरुको समूह बाइकमा आयो र काम गरिरहेका मजदूरमाथि रड प्रहार गरेर फर्कियो। निर्माण कम्पनीका तर्फबाट घटनाका बारेमा प्रहरीमा मौखिकरुपमा जानकारी गराएको १५, २० मिनेटमा नै पुन: ती नै युवाहरु आएर साइड इञ्जिनियर र सुपरिवेक्षकलाई काम नगर्न र गरे ज्यान समेत मार्ने धम्की दिएर गए।
करिब २ हप्ता अघिदेखि स्थानीय राजकुमार तामाङसहितको टोलीले पटक पटक काममा बाधा पुर्याउने र विभिन्न अनावश्यक माग राखेर दुख दिँदै आएको निर्माण कम्पनीका सञ्चालक भुसालले बताए। ‘स्थानीय राजकुमार तामाङसहितका युवाहरु पटक पटक निर्माण स्थलमा आउने र सामाग्री सप्लाईका काम आफूहरुलाई दिन भन्दै धम्की दिने गरेका थिए। काम दिन खोज्दा कुरा नमिल्ने गरी गरेपछि हामीले स्थानीयस्तरकै अन्यबाट सामाग्री लियौँ’ भुसालले भने।
सप्लाईको कुनै पनि काम उनीहरुसँग नगरेपछि इँटा जहाँबाट झारेपनि एउटा इँटा बराबर एक रुपैयाँ कमिसनको माग गरेका थिए। कमिसन समेत नदिएपछि उनीहरु साइड इञ्जिनियरदेखि सुपरिवेक्षक र मजदूरहरुलाई पनि काम नगर्न र गरे ज्यान समेत मार्ने धम्की दिन थालेको उनले बताए।
भुसालले धम्कीका विषयमा नगरपालिका कार्यालय, प्रहरी कार्यालयलगायतका सम्बन्धीत निकायमा आफूहरुले मौखिक रुपमा जानकारी गराउँदै आएपनि उनीहरुले धम्क्याउन नछोडेको बताए। फागुन २ गते सोमबार १७/१८ जनाको समूह नै बाइकमा आएर आफ्ना मजदूरहरुमाथि रड प्रहार गरेर गएको उनको भनाइ छ।
उनले निर्माण पाटीसँगको कुराकानीमा भने, ‘घटनाका बारेमा हामीले सबैतिर खबर गर्यौँ, प्रहरीले तुरुन्तै ती केटाहरुको खोजी गर्ने पनि बताए। तर त्यसको १५ मिनेटपछि पुन: ती केटाहरु निर्माणस्थलमा आएर साइड इञ्जिनियरलाई काम अघि बढाए मार्ने धम्की दिएर गए।’
निर्माण कार्यमा खटिएका निर्माण व्यवसायी र मजदूरमाथि यतिसम्मको दुर्व्यवहार र आक्रमण हुँदा पनि सम्बन्धीत निकायले गम्भीरतापूर्वक नलिएको निर्माण कम्पनीको आरोप छ। स्थानीय जनप्रतिनिधिहरुले नै घटनालाई छलफल गरेर मिलाउनुपर्छ प्रहरीमा जाहेरी नदिनु भनेर जेभिका अख्तियार प्राप्त व्यक्ति कुवेर दाहाललाई पटक पटक फोन आएको कम्पनीले बताएको छ।
निर्माण कम्पनीले आयोजना प्रमुखलाई घटनाबारे जानकारी सहित कारबाही नगरेसम्म काम रोकेको जानकारी पत्र पठाएको छ भने आज प्रहरीमा लिखित जाहेरी समेत दिएको छ। यस बारेमा थप जानकारी लिन खानीखोला प्रहरी कार्यालयमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।