कैलाली। सुदूरपश्चिम प्रदेश विश्व विद्यालय निर्माणका लागि गठित कार्यदलले प्राविधिक विश्व विद्यालय निर्माण गर्न सुझाव दिएको छ। साढे चार महिना अध्ययन तथा परामर्श गरेर टोलीले तयार पारेको प्रतिवेदनमा प्रदेशको विकासका लागि स्तरीय प्राविधिक शिक्षा आवश्यक रहेको उल्लेख गरिएको हो।
अध्ययन कार्यदलका संयोजक डाक्टर खेमराज जोशीले सबै क्षेत्रबाट प्राविधिक शिक्षा प्राथमिकतामा परेको बताए ।
विश्वव्यापी शिक्षालाई समेट्दै यहाँका प्राकृतिक स्रोत साधनको प्रयोग हुने गरी प्राविधिक विश्व विद्यालय निर्माण गर्नुपर्नेमा ८५ प्रतिशत धारणा आएको प्रतिवेदनमा उल्लेख गरिएको छ। टोलीले तयार पारेको प्रतिवेदनमा कैलालीको गेटा मेडिकल कलेजलाई विश्व विद्यालयको केन्द्रीय कार्यालय बनाउन सकिने उल्लेख गरिएको छ । गेटाका अलवा कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित मालुमेला क्षेत्र, कैलालीको मसुरिया र मोहन्यालमा पर्ने तालबन्ध क्षेत्र र डोटीको जोरायलस्थित छतिवन क्षेत्रमा पनि विश्व विद्यालयको केन्द्रीय कार्यालय निर्माण गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।
विश्व विद्यालय निर्माण गर्दा विश्व बजारमा माग भएका प्राविधिक जनशक्ति उत्पान गर्ने, प्रदेशमा रहेका प्राकृतिक स्रोत साधनको सम्भाव्यता अध्ययन गर्ने, विपन्न वर्गका विद्यार्थीले सहजै पढन पाउने गरी अघि बढ्नुपर्ने प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनमा सुझाव दिंदै प्रदेशका निमित्त प्रमुख सचिव ढुंडीप्रसाद निरौलाले प्रारम्भिक मस्यौदालाई थप प्रष्ट पार्न आग्रह गरे । मस्यौदा धेरै राम्रो भए पनि कुन तरिकाले अघि बढ्ने पहिलो चरण के हुने, कुन कुन संकायमा पहिला पठनपाठन गर्ने भन्ने विषय प्रष्ट नभएको उनले बताए ।
कैलाली बहुमुखी क्याम्पसका प्रमुख धर्मराज उपाध्यायले तराईभन्दा पहाडी क्षेत्रमा विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्नु पर्ने सुझाव दिए । उनले पहाडमा विश्वविद्यालय निर्माण गर्दा प्राकृतिक श्रोतसाधनको बढी खोज तथा अनुसन्धान गर्न सकिने बताए ।
प्रदेश विश्व विद्यालय निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न प्रदेश सकरारले २५ असोज २०७८ मा पोखरा विश्व विद्यालयका सहप्राध्यापक डा खेमराज जोशीको संयोजकत्वमा आठ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदललाई अध्ययनका लागि सुरुमा तीन महिनाको अवधि दिइएकोमा पछि एक महिना समयावधि थप गरिएको थियो । कार्यदलले गत २८ माघमा प्रदेश सरकारलाई आफ्नो प्रारम्भिक प्रतिवेदनको मस्यौदा बुझाएको छ ।