फाइल तस्बिर
कञ्चनपुर। कञ्चनपुरमा निमार्णाधीन महाकाली सिँचाइ आयोजना निर्माण कार्य निराशाजनक देखिएको छ। डेढ दशकअघि शुरु भएको महाकाली सिँचाइ आयोजनामा हालसम्म १३ किलोमिटर मात्र मूल नहर निर्माण गरिएको छ।
उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईसहितको टोली आयोजनाको तेस्रो चरणको कामको स्थलगत निरीक्षणका लागि महेन्द्रनगर पुगेको थियो।
मन्त्री, मन्त्रालयको टोली र राजनीतिक दलका नेताहरुले बेलाबखतमा स्थलगत निरीक्षण गर्दैआए पनि कामको गति बढाउने तथा समयमै आयोजना सम्पन्न गर्नतर्फ भने कसैले ध्यान दिएको देखिँदैन। कञ्चनपुर र कैलालीको मालाखेतीको गरी ३५ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित शुरु गरिएको नडेढ दशकअघि प्रारम्भ भएको महाकाली सिँचाइ आयोजनाको हालसम्म १३ किलोमिटर मात्रै मूल नहर निर्माण भएको छ ।
कूल १५१ किलोमिटर लामो उक्त नहर आयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने शाखा नहर निर्माण गर्न बाँकी नै छ। महाकालीको पानी नहरमा बग्न अझै समय लाग्ने अवस्था छ । मूल नहरसँगै २२ शाखा नहर निर्माणको गृहकार्यमा जुटेको आयोजनाले चाँडै करिब ५० किलोमिटर लम्बाइका शाखा नहर निर्माण थाल्ने आयोजनाले जनाएको छ।
मूल नहर निर्माण गर्न अबौँ रुपैयाँ खर्च भइसकेको छ । महाकाली नदीदेखि नेपाल–भारत सीमा क्षेत्रसम्म भारतले महाकाली सन्धीअनुसार एक हजार दुई सय मिटर मूल नहर र हेडरेगुलेटरलगायत संरचना बनाउनुपर्ने हुन्छ । भारतले ढिलो गरी ति काम सम्पन्न गरेको छ । दुवै देशको सीमाभन्दा वर करिब दुई सय मिटर मूल नहर निर्माण गर्न बाँकी छ ।
हाल निर्माणाधीन १५ किलोमिटर मूल नहरका लागि दुई अर्ब ३० करोडको ठेक्का सम्झौता भएको छ । त्यही अनुसार तीन प्याकेजमा काम भइरहेको छ । महाकाली पारीको दोधारा चादँनीमा नहर निर्माणका लागि सर्वे थालिए पनि त्यो काम अहिले प्रभावित छ । सर्वेका क्रममा स्थानीयवासीले अवरोध गरेपछि सो काम रोकिएको हो । दोधारा चादँनीका लागि ३५० क्युसेक पानी उपलब्ध गराउनुपर्ने महाकाली सन्धीमा उल्लेख छ ।