कास्की । बेलायती राजदूत निकोला पोलिटले पोखरा–३१ स्थित वेगनास फेरोमा साइकल यात्रा गरेका छन् । साइकल सिटी पोखराको समन्वय र सुदृढ परियोजनाको आयोजनामा उनले सोमबार बिहान वेगनास फेरोको करिब १० किलोमिटर साइकल यात्रा गरेका हुन्।
पोखरा महानगरपालिकाको कार्बन न्युटल डेभलपमेन्ट पथ कार्यक्रममा सहभागी हुन पोखरा आएका उनले कार्यक्रममा सहभागी हुनुपूर्व वेगनास फेरोमा साइकल यात्रा गरेको सृदृढ परियोजना पोखराका संयोजक होमनाथ गैह्रेले जानकारी दिए । उनका अनुसार पोलिटले सोमबार बिहान साइकल सिटीका २० जना सदस्यसँगै लेखनाथका विभिन्न तालको दृश्यावलोकनसहित साइकल यात्रा गरेका छन् ।
पोलिटले आफ्नो साइकल यात्राबारे अनुभव सुनाउँदै भने, “सोमबारको बिहान निकै रमाइलो भयो। माछापुच्छ्रेको सुन्दर दृश्य हेर्दै वेगनास वरिपरिको साइकल यात्रा मेरो लागि निकै रोमाञ्चक र अविस्मरणीय बन्यो ।”
कोभिड–१९ का कारणले विश्वव्यापी रुपमै पर्यटन क्षेत्रमा गम्भीर असर पारेको जनाउँदै उनले अब भिसा प्रोटोकल लुज हुँदै र कोरोना सङ्क्रमण दर घट्दै गएपछि नेपालमा पर्यटकको सङ्ख्या बढ्ने विश्वाससमेत व्यक्त गरे ।
उनले भन्नुभयो “नेपाल भुबनोटले असाध्यै सुन्दर छ, यहाँका मानिसहरूका आत्मीयता निकै लोभलाग्दो छ । कोरोना कम हुँदै गएपछि धेरैको रोजाइको शहर पोखरा बन्ने छ ।” उनले नेपालमा धेरै सुन्दर ठाउँहरू रहेको यसको प्रवद्र्धनको आवश्यक रहेको बताए । उनले पर्यटकलाई साइकल रुटका बारेमा जानकारी दिन सके र साइकल मैत्री पूर्वाधार बनाउन सके पर्यटन प्रवर्द्धन हुँदै जाने बिश्वास व्यक्त गरे ।
सो अवसरमा उनले नेपाल बिट्रिसको कूटनीतिक सम्बन्ध धेरै राम्रो भएको र बेलायतमा नेपाललाई हेर्ने दृष्टिकोण पनि निकै सकारात्मक रहेको बताए। उनले बिट्रिसहरूले नेपालका अग्लाअग्ला पहाड हेर्न र हिमाल आरोहण गर्न निकै मन पराउने गरेको बताए । राजदूत पोलिटले जलवायु परिवर्तनले नेपालको हिमालयन क्षेत्रमा परेको असरलाई पनि बेलायत सरकारले निकै चासोका रूपमा लिएको बताए ।
साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाले लेखनाथको लामास्वाराँदेखि रामदीवेगनास, सुन्दरीडाँडा हुँदै वेगनास फेरोको साइकल यात्रा गरेको जानकारी दिनुभयो । राजदूतको साइकल यात्राले यस क्षेत्रको प्रचारप्रसारमा सकारात्मक भूमिका खेल्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
पोखरा पर्यटकीय सहर भएकाले साइकल मैत्री सहर बनाउनुपर्छ भन्ने अवधारणा अघि सार्दै पोखराका विभिन्न २१ स्थानहरुमा साइकल स्ट्यान्ड राखेको छ । त्यसैगरी, बाढीपहिरा पीडितलाई सहयोग, वृक्षारोपण, रक्तदानलगायत सामाजिक एवम् वातावरण मैत्री कार्यक्रम पनि गर्दै आएको साइकल सिटीमा एक सयभन्दा बढी सदस्य रहेका छन् । साततालको फेरोको ७४ किलोमिटरको साइकल मार्गको प्राजेक्टका लागि पनि काम गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।