जनकपुरधाम। जयनगर–कुर्था रेल मार्गमा नियमित रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी लिमिटेड तयारी अवस्थामा छ। सबै तरिकाले रेल सञ्चालनका लागि तयारी अवस्थामा रहेको कम्पनी उद्घाटनको पर्खाइमा बसेको हो।
रेल सेवाको नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गर्ने भएपछि नेपाल रेल्वे कम्पनी उद्घाटनको मिति कुरेर बसेको हो।
भारतीय रेल्वे कम्पनी कोंकणले उद्घाटनका लागि २०२२ मार्च १ अर्थात फागुन १७ गतेको मिति प्रस्ताव गरेको र आफूहरुले सोही मितिलाई समर्थन गरेर भारतीय दूतावासलाई पठाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिए।
‘‘कोकण र हामीबीच सहमति भएरै उद्घाटनको मिति मार्च १ तय गरेर दूतावासमा पठाएका हौं”, उनले भने, ‘‘तर दूतावासले उद्घाटनको मितिको प्रस्ताव नेपाल सरकारबाट आउनुपर्ने बताइरहेका छन् ।” तर नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका कारण उद्घाटनको मिति तय गर्न ढिलाइ भइरहेको उनको भनाइ छ।
‘‘उद्घाटनको ढिलाइका कारण मात्र रेल चलाउन समस्या भएको छ”, महाप्रबन्धक झाले भने, ‘‘नभए रेल चलाउन कुनै समस्या अब छैन्, हामीले सबै तयारी गरिसकेका छौं ।” उद्घाटन भए लगत्तैबाट नियमित रेल चलाउने उनको भनाइ छ।
रेल सेवा उद्घाटन नभएसम्म नियमित बिना यात्रु (ड्राई सेवा) भने गत फागुन १ गतेदेखि सञ्चालन हुँदै आएको छ ।