काठमाडौं। पनाैतीमा भूमि विकास र संरक्षण पर्खाल निर्माण गर्न आह्वान गरिएको बोलपत्रमा सेटिङ भएको आशंका गरिएको छ।सिंहदरबार भित्र रहेकाे सेक्युरिटि प्रिन्टिङ सेन्टरले निर्माण गर्न लागेको भूमि विकास तथा संरक्षण पर्खालको ठेक्कामा सेटिङ भएको आशंका गरिएको हो।
केही निर्माण व्यवसायीले बोलपत्र आह्वानमा माग गरिएको कार्यानुभवका आधारमा सेटिङ भएको बताएका छन् भने केही निर्माण व्यवसायीले सेटिङमा समेटिएका सिमित कम्पनीको नामनै किटान गरी सेटिङ भएको दाबी गरेका छन्।
भ्याट बाहेक करिब ९ करोड ७७ लाखको आयोजनाका लागि ६०० वर्ग मिटर ‘नोइज बेरियर’ को काम गरेको कार्यानुभव माग गरिएको छ। प्राय औद्योगिक क्षेत्रमा मात्र प्रयोग हुने नोइज बेरियरको काम नेपालमा कम गरिन्छ। त्यसमा पनि काम गरेका कम्पनीले थोरै लागतको काम भएकाले यसको प्रमाण पत्र बनाएका हुँदैनन्। त्यसैले कुनै निश्चित कम्पनीलाई लक्षित गरेर बोलपत्रमा यस्तो कार्यानुभव माग गरिएको हुन सक्ने निर्माण व्यवसायीहरुको आरोप छ।
त्यसैगरी कार्यानुभवमा १० सेन्टिमिटर बाक्लो एम५० को ८०० वर्ग मिटर ब्लक छापेको कार्यानुभव माग गरिएको छ। नेपालमा पछिल्लो समय पुलको ढलानमा एम ४५ सम्मको काम गर्न थालिएको छ। एम५० ब्लकको काम गर्ने कम्पनी नेपालमा २ देखि ३ वटा मात्र हुन सक्ने र ती नै कम्पनी लक्षित ठेक्का निकालिएको निर्माण व्यवसायीहरुको दाबी छ।
त्यसैगरी भ्याट बाहेक ९ करोड ७७ लाखको काममा ३ प्रतिशत मात्र खर्च हुने कामको कार्यानुभव माग गरिनु पनि शंकाको विषय बनेको छ। नेपालमा एम ४० ब्लक सम्मको काम गरेका कम्पनी धेरै छन्। उद्योगमा बनेको ब्लकलाई छाप्न एम४० हाेस् वा एम ५० को जुनसुकै कम्पनीले एम ५० को ब्लक लगेर छाप्न सक्छन्। तर यहाँ ठेक्कालाई प्रतिस्पर्धात्मक नबनाएर नियोजित रुपमा केही सिमित कम्पनी लक्षित गरी ठेक्का निकालिएको देखिन्छ।
नाम नखुलाउने सर्तमा एक निर्माण व्यवसायीले निर्माणपाटीसँग यो आयोजनामा तीन कम्पनीको सेटिङ भएको दाबी नै गरेका छन्। उनले समानन्तर निर्माण सेवा प्रा.लि, रेलिगर कन्स्ट्रक्सन प्रा.लि र एक अर्को कम्पनीको नाम उल्लेख नगरी उनीहरुबीचको सेटिङमा ठेक्का निकालिएको बताए।
यस विषयमा बोलपत्रमा उल्लेख गरिएका आयोजनाका आधिकारीक व्यक्ति हरिबल्लभ घिमिरेसँग सम्पर्क गर्दा उनले प्राविधिक विषयमा आफू जानकार नभएको भन्दै पन्छिन खोजे। उनले कार्यालय प्रमुख विकल पौड्याल र डिपिआर तथा डिजाइन तयार गर्ने परामर्श दाता हेमन्त चित्रकारसँग कुरा गर्नु भन्दै केही बोल्न चाहेनन्। डिपिआर तथा डिजाइन तयार गर्ने चित्रकारसँग कुरा गर्दा आफूलाई बोलपत्र आह्वानमा समावेश भएका कुराबारे जानकारी नभएको बताए।
सेक्यिुरिटि प्रिन्टिङका कार्यालय प्रमुख पौड्यालसँग यस विषयमा कुरा गर्दा आफूले सिभिल इन्जिनियरसँग यस विषयमा कुरा गर्ने बताए। उनले नजिकै बालग्राम रहेकाले नोइज बेरियरसहितको पर्खाल बनाउनै पर्ने र उद्योगका लागि भएकाले ब्लक पनि मोटो नै राख्नुपर्ने बताएपनि खरिदनियमावली र आफूहरुले नै निकालेको बोलपत्रको प्राविधिक कुरामा जानकारी नभएको भन्दै थप बोल्न चाहेनन्।
याे ठेक्काकाे लागि आवेदन दिने अन्तिम मिति आज (बिहीबार) दिउँसो १२ बजेसम्म मात्र छ।