म्याग्दी। धौलागिरि गाउँपालिका–४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएको छ। भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्र नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा पुल निर्माण भएको हो।
पुल निर्माण भएसँगै चार घण्टा घुमाउरो बाटोको यात्रा एक घण्टामा छोटिएको छ। पुल निर्माण भएपछि जङ्गल, भीर र खोल्साको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको स्थानीय बताउँछन्।
धौलागिरि गाउँपालिकाले नाउराको कोपिलाघाटमा ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । ४० लाख ९४ हजार ४ सय ५ रूपैयाँको लागतमा निर्माण भएको कोपिलाघाटको झोलुङ्गे पुलबाट नाउरा र चेचुङका ३९ घरधुरी लाभान्वित भएका छन्।
धौलागिरि गाउँपालिकाले गत वर्ष सुरु गरेको सात वटामध्ये हालसम्म तीन वटा निर्माण सकिएका छन् । यसअघि वडा नम्बर ६ मराङको अस्कारे खोलामा ३० लाख ५० हजार रूपैयाँको लागतमा ३५ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको थियो ।
सो पुलबाट मल्कवाङ, मराङ, आरबाङ, हाङबाङ, औसीबाङ, भेडिखाल्टा र रघुगङ्गाको कुइनेका ७०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाले बताए।
यसैगरी धौलागिरि गाउँपालिका–२ को आवासखोलामा ३२ लाख ४१ हजार ८ सय ५९ रूपैयाँको लागतमा निर्माण भएको ३२ मिटर ट्रस पुलबाट खोरियाका १०० घरधुरी लाभान्वित भएका छन् । पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ ।
पुल निर्माणका लागि टिबिएसयुको स्वाप कार्यक्रमले लठ्ठा र बुल्डअपग्रिप उपलब्ध गराएको थियो । गाउँपालिकाले स्टिल डेग खरिद र ढुवानी गरेको हो ।