काठमाडौं। सूर्यविनायक नगरपालिका–७ गुण्डूस्थित घट्टाको बाँध, धोविखोला मोटरेवल पुल, त्यससँगैको विश्रामस्थल, टेबुलटेनिस तथा ब्याडमिन्टन कोर्टसहितको खेल मैदानको हिजो एकैसाथ उद्घाटन गरिएको छ।
सङ्घीय सरकार, वागमती प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा स्थानीय समुदायको सहयोगले निर्माण गरिएको संरचनाको सांसद महेश बस्नेत र बाग्मती प्रदेशसभा सदस्य शशीजंग थापाले संयुक्तरुपमा उद्घाटन गरेका हुन्।
पूर्वमन्त्रीसमेत भएका सांसद बस्नेतले पार्टी अहिले सत्तामा नरहदा पनि एमालेले भक्तपुरको राजनीति बिग्रन नदिएको बताए। बाग्मती प्रदेशसभा सदस्य थापाले तीनवटै सरकारले भक्तपुरको विकासमा नमूनाको रुपमा काम अगाडि बढाएको जानकारी दिए।
यहाँ वर्षौंसम्म बन्न नसकेका सडक, पुल बनेको, अधिकांश सडक कालोपत्र भएको, सबै गाउँमा सडक पुगेको, प्रत्येक सडकमा ढलसहितको कालोपत्र गर्ने क्रम जारी रहनाका साथै, विद्यालय, सामाजिक सङ्घसंस्थाका भवन, अस्पताल, स्वास्थ्य संस्था, खानेपानीको विकासबाट भक्तपुरलाई सम्पन्न बनाउन सफल भएको बताए।