सर्खेत। राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम समग्रमा ५३ प्रतिशत पूरा भएको छ। आयोजनाको भौतिक प्रगति ४० प्रतिशत भएको छ भने भौतिक र वित्तीय गरी समग्र प्रगति ५३ प्रतिशत भएको हो।
हाल बाँध र विद्युतगृहका लागि आवश्यक पर्ने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका खरिद सम्झौता सम्पन्न भइ डिजाइनको काम थालिएको आयोजनाले जनाएको छ। बाँध (हेडवक्र्स) र विद्युत्गृह निर्माण, हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम)सम्बन्धी डिजाइनका कामहरु भइरहेको आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाले दोस्रो चरणमा सिभिल संरचनाअन्तर्गत हेडवक्स, पावर हाउस, बाँध, सर्ज साफ्ट तथा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कामलाई तेस्रो चरणमा रुपमा काम अघि बढाएको छ। पहिलो चरणमा सुरुङको निर्माण कार्य तोकिएको समयभन्दा एक वर्ष अगावै सम्पन्न भइसकेको थियो।
आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँमध्ये हालसम्म १४ अर्ब बढी रकम खर्च भइसकेको छ । सरकारले आयोजनाका लागि चालु आर्थिक वर्षमा ३ खर्ब ४ करोड ६ लाख रुपैयाँ बजेट पुँजीगततर्फ विनियोजन गरेको छ ।
आयोजनाले पहिलो चरणअन्तर्गत सुरुङ निर्माण कार्य पूरा गरिसकेको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रालिले टनेल बोरिङ मेसिन (टिबिएम)का सहायताले सुरुङ निर्माण गरेको थियो ।
दोस्रो चरणका मुख्य कामहरु बाँध र विद्युत्गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै कार्यहरु आर्थिक वर्ष २०७९–८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ ।