म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा दुईवटा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माण गरिने भएको छ। गाउँपालिकाले संघीय सरकारसँग सहकार्य गरी वडा नं २ भगवतीको बाहुनचौर र वडा नं ६ पाखापानीमा चिस्यान केन्द्र निर्माण गर्न लागेको हो।
गाउँपालिकाको ‘एक गाउँ, एक उत्पादन’ अभियान अन्तर्गत भगवतीमा संघीय सरकारले ५० लाख र गाउँपालिकाले ५० लाख गरी एक करोड लागतमा कोल्डस्टोर निर्माणको आवश्यक प्रक्रिया थालिएको गाउँपालिकाका प्रमुख भवबहादुर भण्डारीले जानकारी दिए ।
कोल्डस्टोरका लागि प्राविधिकको टोलीका वडा कार्यालय नजिक एक रोपनी जग्गा व्यवस्थापन भएकाले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)पछि बोलपत्र प्रक्रियामा जाने प्रमुख भण्डारीले बताए । ‘यहाँ उत्पादन भएको कृषि उपजलाई भण्डारण गरी सीधै बजारमा लैजान सकिन्छ, कृषकका हरेक प्रकारका उत्पादनलाई कोल्डस्टोरमा राख्ने योजनासहित चिस्यान केन्द्रको निर्माण गर्न लागिएको हो,’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।
सुन्तला, केरा र आलुको उत्पादन हुने पिप्ले, भगवती, बेगखोलाकाले धेरै प्रयोग गरे पनि भगवतीको ठूलो भएकाले त्यहाँ गाउँपालिकाका सबै वडाका कृषकको उत्पादनलाई राखिने प्रमुख प्रशासकीय अधिकृत सुवेदीको भनाइ छ । त्यस्तै पाखापानीमा संघीय र गाउँपालिकाको गरी २२ लाख लागतमा एक वर्षभित्र सम्पन्न गर्ने गरी पोर्टेबल कोल्ड च्याम्बर बनाउन आवश्यक तयारी गरिएको छ ।
भौगोलिक रूपमा विकट र अपायक पर्ने भएकाले झिँ, पाखापानी, चिमखोला र कुइनेमंगले क्षेत्रका कृषकलाई लक्ष्य गरी पाखापानीमा बनाउन लागिएको कोल्ड च्याम्बर एक वर्षभित्र उक्त निर्माण गरिने वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । दुवै स्थानमा निर्माण हुने कोल्डस्टोरको डिजाइन इस्टिमेटको काम अगाडि बढेकाले अगुवा कृषक समेत उत्साहित छन् । कोल्डस्टोर बनेपछि कृषिजन्य वस्तु, फलफूलअन्तर्गत सुन्तलालाई उचित तापक्रममा लामो समयसम्म राखेर बेमौसमी सिजनमा बजारमा पुर्याउन सकिन्छ ।