काठमाडौं। चक्रपथ विस्तारको दोस्रो चरणअन्तर्गत स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर सडक विस्तार हुने भएको छ। स्वयम्भू क्षेत्रलाई यथास्थितिमै राखेर चक्रपथ विस्तार हुने भएको हो।
स्वयम्भूको सडक छेउमा रहेको बुद्धको मूर्ति तथा अन्य चैत्यहरूलाई हटाएर सडक विस्तार गर्न उपयुक्त नहुने ठहर गर्दै सो क्षेत्रको सडकमा केही परिवर्तन नहुने भएको छ।
स्वयम्भू र सानो भर्याङमा समेत साइट क्लियर हुन बाँकी छ। स्वयम्भूमा भने बाटो खुम्च्याएर डिजाइन परिवर्तन गरी निर्माण अगाडि बढाउने गरी काम भइरहेको बताइएको छ। कलंकीदेखि वसुन्धारासम्मको क्षेत्रमा साइट क्लियरेन्स ९८ प्रतिशत पूरा भइसकेको जनाइएको छ।
कलंकी स्युचाटारको पुलदेखि वसुन्धारासम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने गरी सम्झौता भएको थियो। तर नेपालले चीनसँग गरेको आग्रहमा कलंकीदेखि चाबहिलसम्म ११.४६ किलोमिटर विस्तार गर्न चीन सकारात्मक भएको छ।
कोभिड–१९का कारण पनि आयोजनाले गति लिन सकेको थिएन। तर चिनियाँ पक्षले सम्झौताअनुसार कलंकीदेखि वसुन्धारासम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने गरी प्रकिया अगाडि बढाएकाले सम्झौताअनुसार नै सडक विस्तार हुने देखिएको सडक विभागले बताएको छ।
सडक खण्ड विस्तारका लागि सडकको सीमा क्षेत्र पूर्ण रूपमा खाली गरेर विस्तारको काम सुरु गरिने छ। जसअन्तर्गत गत फागुनसम्म बिजुलीका पोल, रुख र खानेपानी, ढललगायत अन्य अवरोध हटाएर सीमांकन गरिने लक्ष्य राखिएको भए पनि ढिलो भएको थियो।
कुल ६२ मिटर चौडाइ रहने सडकमा केन्द्रबाट दायाँबायाँ दुवैतर्फ ३१ मिटर रहने र यसमा चीनले ५० मिटरमा सडक विस्तार गर्ने छ। बीचमा डिभाइडरसहितको ४ लेन र दायाँबायाँ २–२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुने छ।