काठमाडौं। एमसीसी पारित भएको विरोधमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ। मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वाम पार्टीहरुले आगामी फागुन २० गते काठमडौंमा विशाल प्रदर्शनसहित विरोधसभा गर्ने निर्णय गरेका हुन्।
वामपार्टीहरुले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै शेरबहादुर देउवा सरकारले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनविरुद्ध राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको निष्कर्ष निकालेको जनाएका छन् ।
संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव चन्द, नेकपा क्रान्तिकारी माओवादी का महासचिव मोहन वैद्य , नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती रहेका छन्। उनीहरुले यो देश र नेपाली जनतका विरुद्ध गरिएको अक्षम्य अपराध साबित भएको उल्लेख गरेका छन्।
यस्ता छन् संघर्षका कार्यक्रम
१. फागुन २० गते काठमाडौं उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोधसभा
२. फागुन २२ गते बुद्धिजीवीहरूको अन्तरक्रिया
३. फागुन २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा
४. फागुन २६ गते विद्यार्थीहरूको देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा
५. फागुन २८ गते युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
६. फागुन ३० गते मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
७. चैत २ गते किसानहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
८. चैत ४ गते श्रमिक÷दलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा
९. चैत ६ गते राष्ट्रिय मुक्ति (जातीय–क्षेत्रीयं) मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन ।