खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङमा सञ्चालित विभिन्न योजनाहरुमा अनियमितता भएको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय खोटाङले गठन गरेको समितिले विभिन्न आयोजनामा अनियमितता भएको निष्कर्ष निकालेको हो।
अनियमिता भएको उजुरी परेपछि कार्यालयले समिति गठन गरेको थियो। समितिले अध्ययन प्रतिवेदनमा बुवालुङमा सञ्चालित सडक, विद्यालय, वन, एकीकृत नमुना बस्ती, कृषि अनुदान लगायतका योजनाहरुमा वडाअध्यक्ष समेत अनियमिततामा संलग्न भएको उल्लेख गरिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी विकल श्रेष्ठको संयोजकत्वमा छानविन समिति गठन गरी अध्ययन गरिएको थियो । छानविन समितिले पेश गरेको प्रतिवेदन अख्तियार र गृह मन्त्रालयमा पठाइने प्रमुख प्रशासन कार्यालयले जनाएको छ।
माथिल्लो निकायले पनि छानविन शुरु गरेकाले विस्तृत छानविनका लागि सिफारिस गरिएको बताइएको छ।
वडामा सुरक्षित नागरिक आवास, एकीकृत वस्तीमा मापदण्ड मिचेर वास्तविक लाभग्राही नभई पहुँचवाला व्यक्तिहरुले कब्जा जमाएको, एकीकृत बस्तीको नाममा सुरक्षित नागरिक आवासको कार्य अलपत्र परेको, मध्यपहाडी लोकमार्गदेखि वडा कार्यालयसम्मको सडक निर्माण गुणस्तरहीन भएको, अन्नपूर्ण माविको सिंढी तथा पर्खाल निर्माणमा अनियमितता भएको, सिस्ने हर्कटे सामुदायिक वनमा पर्ने लप्सेखोलामा अवैध ढुङ्गा खानी सञ्चालन गरिएको लगायतका विषयमा अनियमिता भएको भन्दै स्थानीय तथा केही वडासदस्यले नै उजुरी दिएका थिए।