अछाम। सघन शहरी विकास कार्यक्रममार्फत साँफेबगर नगरपालिकामा ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। सहरी विकास मन्त्री रामकुमारी झाक्रिले साँफेबगर नगरपालिकालाई सघन शहरी विकास कार्यक्रममा छनोट गरी ५० करोड रुपैयाँ विनियोजन गरेकी हुन्।
देशका ४४ वटा नगरपालिका मध्ये साँफेबगर नगरपालिका पहिलो पटक सघन शहरी विकास कार्यक्रममा छनोट गरिएको छ । सघन शहरी विकास कार्यक्रमको लागि बजेट प्राप्त भएपछि साँफेबगर नगरपालिकाको ११ औं कार्यपालिकाको बैठकले नगरका महत्त्वपूर्ण योजना छनोट गरेर सहरी विकास मन्त्रालयमा पत्र पठाएको नगरपालिकाले जनाएको छ।
साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा बसपार्क निर्माण र वडा नं ४ स्थित तारेकुनामा मिनी मार्केट निर्माणको लागि १५ करोड बजेट प्रस्ताव गरिएको छ । नगर क्षेत्र वरिपरिका सडक कालोपत्र गर्नको लागि २५ करोड बजेट प्रस्ताव गरिएको छ ।
छिपेखोला वारीपारी १२ मिटर पक्की, लुंग्रेलिगाडदेखि वैजनाथ धाम, बयलपाटा बजारदेखि महेन्द्र मावि, एयरर्पोटका छेउबाट पुल बजार, जनकल्याण माविदेखी एयरर्पोट, ठाटी बजार, घुघुरकोटमा निर्माणधिन डम्पिङ साइट क्षेत्रमा नाली सहित कालोपत्रे सडकको लागी प्रस्ताव गरिएको छ । यस्तै हाटबजारमा नाली निर्माण गरिने छ ।
यस्तै सघन शहरी विकास कार्यक्रम मार्फत नगर क्षेत्रमा एक दर्जन बढी पार्कहरु र आधा दर्जन वढी रिचार्ज पोखरी निर्माण गरिने छन्। पार्क र रिचार्ज पोखरी निर्माणको लागि साढे ७ करोड रुपैयाँ प्रस्ताव गरिएको छ।
साँफेबगर नगरपालिका वडा नं ३ शिद्देश्वरस्थित सरुखेल्ने, वडा नं २ जाल्पादेबीको श्रीकोट, वडा नं १२ खप्तडको गणेशपाटन, वडा नं ११ देविस्थानको कालालेकी, बयलपाटा खुलामञ्च, वडा नं ७ रेडिकोटको मोतिपुर र भिउढुङ्गा, वडा नं ४ मष्टमान्डौको बिमकोट दरबार, वडा नं १० घुघुरकोटको दरबार, वडा नं ५ नवाठानाको ढिक्केकोट र टौका र वडा नं ४ मष्टमान्डौको भगवती पार्क निर्माण गर्ने प्रस्ताव गरिएको ।