काठमाडौं। गुल्मी, पाल्पा, स्याङ्जाको संगमस्थलमा तीन जिल्ला जोड्ने तीनमुखे पुलको काम अन्तिम चरणमामा पुगेको छ। कूल ९ करोड ८८ लाख २६ हजार ३३२ रुपैयाँ लागतमा पुल निर्माणको क्रममा रहेको हो।
उक्त पुल नेपालकै चारधाम मध्येको एक धाम रुरुक्षेत्र धाम रिडीमा पर्छ। तीन जिल्लाको प्रसिद्ध धार्मिक तिर्थस्थल पाल्पा, गुल्मी, स्याङ्गजा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमूना तीनमुखे पुल लामो समयदेखि निर्माण कार्य रोकिएको थियो। तर, केही महिनायता भइरहेको निर्माण कार्यले अब छिट्टै पूरा हुने देखिएको छ।
ठेकेदार कम्पनीले कहिले बाढी, पहिरो र कोरोना त कहिले आर्थिक अभाव लगायतका समस्या देखाउँदै समयमा निर्माण कार्य सम्पन्न गरेको थिएन।
अहिले प्रत्येक लठ्ठाको दुईतिर जाली, लाइटिङ, टपमा सोलार र भर्याङ, रेलिङ निर्माण र झण्डा राख्ने संरचना निर्माणको काम भइरहेको र अब वैशाखभित्रै सम्पूर्ण काम सकिने बताइएको छ।
आगामी वैशाख १ गतेभित्र पुलको उद्घाटन गर्ने गरी काम तीव्र पारिएको छ। तीनमुखे पुलको ०७४ साल असार ९ गते निर्माण कार्य सम्पन्न गर्ने गरी ०७१ मंसिर १५ गते निर्माण सुरु भएको थियो। सो पुल सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो हुने दखिएको छ। जसले गर्दा स्थानीय व्यवसायीलगायत अन्य नागरिकहरू समेत खुशी भएको स्थानीयले बताए।
पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चाह्यो त्यही जिल्लामा जान सक्ने डिजाइन छ। नेपालमै नमुनाको रूपमा रिडिमा तीनमुखे झलुङे पुल बनेसँगै गुल्मी, पाल्पा र स्याङजाका स्थानीयहरू सहजताका साथ एकै ठाउँमा जोडिने छन्।