मोरङ। प्रदेश १ का दुई वटा मन्त्रालय राख्नका लागि भवन मर्मत गर्ने कार्यमा अनियमितता भएको पाइएको छ। सरकारले मन्त्रालय राख्नका लागि कुनै पनि प्रक्रिया पूरा नगरी ठेकेदार मार्फत् १ करोड ४० लाखको लागतमा भवन मर्मत सम्भारको काम अघि बढाएको हो।
मन्त्रालय राख्नका लागि विराटनगरको जतुवास्थित विराट साइन्स क्याम्पसको भवन मर्मतका लागि काम अघि बढाएको छ । सहरी विकास तथा भवन कार्यालय मोरङले विभागीय मन्त्रालयलाई बेवास्ता गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोको मौखिक आदेशमा भवन मर्मतको काम प्रक्रिया पूरा नगरी गरिरहेको छ ।
मनमोहन प्राविधिक विश्वविद्यालयलाई हस्तान्तरण गरिएको विराट साइन्स क्याम्पसको भवन र जग्गा प्रदेश सरकारले आफू मातहत नै नल्याई मर्मतको काम अघि बढाएको हो ।
कुनै प्रक्रियाबिना नै मर्मतको काम अघि बढाएर आर्थिक मामिला तथा योजना मन्त्रालयले विभागीय मन्त्रालयलाई समेत बाइपास गरेर आर्थिक अनियमितता गर्न खोजेको भन्दै प्रदेश सांसदहरुले विरोध जनाइरहेका छन् । मन्त्री आङ्बोले सेटिङ गरेर आर्थिक अनियमितता गर्न सुरु गरेको भन्दै प्रदेश सांसदहरुले विरोध जनाएका छन् ।
निर्माण व्यवसायी कन्हैया झामार्फत् भवन मर्मतको काम भइरहेको छ । भवनको मर्मत, रंगरोगन, सेनिटरी, बिजुली, झ्यालढोका मर्मतका साथै भवन प्रवेश द्वार र भर्याङमा मार्बल लगाउने काम भइरहेको छ।
सहरी विकास तथा भवन कार्यालय मोरङका प्रमुख मिलन आचार्यले मन्त्रीले तत्काल दुई वटा मन्त्रालय राख्ने गरी भवन तयार गर्न मौखिक आदेश दिएकाले आफूले एक ठेकेदारलाई मौखिक रुपमा नै काम अघि बढाउन आदेश दिएर काम गराइरहेको बताएका छन्।
कान्तिपुरबाट