काठमाडौं। बागमती प्रदेश सरकारले सडक पूर्वाधारसँग जोडिएका निजी जग्गा तथा घर, टहरा हटाएर क्षतिपूर्ति दिने भएको छ। सडक निर्माणमा अवरोध गरिरहेका जग्गा तथा घर टहराको क्षतिपूर्ति दिएर हटाइने भएको हो।
बागमतीको मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गरेर सडकमा परेका निजी जग्गा र घर टहरा हटाउँदा क्षतिपूर्ति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए ।
‘प्रदेशभित्र सडक क्षेत्रमा रहेका निजी जग्गा र घर, टहरा हुँदा सडक विस्तार गर्न अवरोध खडा भइरहेको छ। यसअघि मुआब्जा दिन सक्ने व्यवस्था थिएन । अब कार्यदल गठन गरेर क्षतिपूर्ति दिने व्यवस्था दिने निर्णय गरेका हौँ, प्रवक्ता खनालले भने ।
उनका अनुसार राष्ट्रिय राजमार्गसँग जोडिएका निजी जग्गा र घर, टहराले भने प्रदेशबाट क्षतिपूर्ति पाउने छैनन् ।
मन्त्रिपरिषद् बैठकले निर्णय गरिसकेकाले क्षतिपूर्तिको व्यवस्था गर्न कार्यविधि निर्माण गर्ने प्रक्रिया अगाडि बढ्ने बताए । प्रवक्ता खनालले प्रदेशभित्र धेरै स्थानमा सडक क्षेत्रका निजी जग्गा, घर, टहरा परेका कारण सडक निर्माणमा समस्या हुँदै आएको बताए ।
बागमतीको मन्त्रिपरिषद् बैठकले स्थानीय तहबाट कार्यान्वयन भइरहेका अलपत्र र अधुरा योजना पूरा गर्न २५ वटा पालिकालाई साढे ४ करोड बढी रकम दिने निर्णय गरेको छ ।