दोलखा। ऐतिहासिक नगरी द्वाल्खालाई सम्पदा बस्तीका रूपमा पुनर्निर्माण गरिएको छ। ७ वर्षअघि विनासकारी भूकम्पले ढलेका सम्पदा र बस्ती पुनर्निर्माणसँग परम्परागत शैली झल्कन थालेको हो।
अभयपुर राज्यको नामले चिनिने भीमेश्वर नगरपालिका–२ स्थित सांस्कृतिक तथा पुरातात्विक द्वाल्खा क्षेत्रलाई सम्पदा बस्तीका रूपमा २०७५ देखि पुनर्निर्माण गर्न सुरु गरिएको हो।
पुनर्निर्माण प्राधिकरणले ६ वटा स्थानमा सम्पदा बस्ती पुनर्निर्माण गर्ने घोषणा गरेमध्ये दोलखा जिल्लाको द्वाल्खाबजार परेको थियो। अहिले त्रिपुरासुन्दरी मन्दिर, तलेजु भवानी, कुमारी घर, भण्डार घरलगायतका संरचना पुनर्निर्माण पूरा भएका छन्।
सम्पदा बस्तीभित्र घर पुनर्निर्माणपछि एतिहासिक सहर दोलखाको रूप नै फेरिन थालेको छ। पुराना कच्ची घर ढलेपछि अहिले आधुनिक घरहरू बनेका छन्। आरसीसी, पक्की घर बनाए पनि अगाडिको भागमा इँटा देखाउने, सटर नराख्ने र मौलिक ढाँचाको डिजाइनअनुसार स्थानीयले घरहरू निर्माण गरिरहेका छन्।
सम्पदा बस्तीमा पुराना सम्पदाको संरक्षण, निजी घरअगाडिको भाग मौलिक ढाँचामा पुनर्निर्माण गर्नुका साथै जात्रा पर्व मार्ग, पदमार्ग निर्माण, धारा तथा पोखरी संरक्षण गर्ने कार्य जारी छ। द्वाल्खालाई मल्लकालीन स्वरूपका घर पुनर्निर्माण गरी ऐतिहासिक र पुरातात्विक महत्व कायम राख्ने योजनाका लागि भीमेश्वर नगरपालिका–२ वडा कार्यालयले निःशुल्क नक्सा बनाउँदै आएको छ।