पर्वत। पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा सडक सुविधा पुगेसँगै उत्पादित फलफुल बजार पुग्न थालेका छन्। गाउँ सडक सञ्जालसँग जोडिएसँगै करोडौंको फलफुल निकासी हुन थालेको हो।
बाँसखर्कबाट यो वर्ष ४ करोडको सुन्तला निकासी भएको छ । पुरै गाउँबाट २ लाख ८६ हजार किलोग्राम सुन्तला निकासी भएको बाँसखर्कका कृषक आवद्ध बजारमारे सुन्तला कृषि सहकारी संस्थाले जनाएको छ ।
संस्थाका अनुसार यसपाली प्रतिकिलो १४० का दरले ४ करोड मूल्य बराबरको सुन्तला निकासी भएको छ। यहाँ गत वर्षको भन्दा २० देखि २५ प्रतिशतले उत्पादनमा वृद्धि भएको कृषकहरुले जनाएका छन्। उत्पादन बढेसँगै उत्पादित सुन्तला निकासी गर्न पाउँदा स्थानीय खुसी छन्। यस अघि सडकको अभावका कारण उत्पादन भएपनि बजारसम्म पुर्याउन समस्या रहेकोमा अब भने बजार आफैं घर घरमा आउने भएको कृषकहरुको भनाइ छ।
बसोबास गर्ने २६१ मध्ये २०० घरले २५ हजार बोट सुन्तलाखेती गरेका छन् । सडक सुविधासँगै सुन्तलाले सहजरुपमा बजार र उचित मूल्य पाउन थालेपछि सुन्तलाखेती विस्तारमा लागेका हुन्।
बाँसका घारी मात्रै हुने भएकोले ‘बाँसखर्क’ नामकरण भएको यो गाउँभर हाल सुन्तलाको जङ्गल नै भएको छ । पछिल्ला दुई दशकयता यहाँका किसानले अपनाएको व्यवसायीकरण, सुन्तलामा लाग्ने रोग, किराको निदान, उन्नत जातका बिरुवाको विस्तारलगायतका कारणले सुन्तला उत्पादन बर्सेनी बढ्दै गएको छ ।
यहाँबाट विस्थापित पनि सुन्तलाको आम्दानीका कारण गाउँमै फर्किन थालेका छन् । सिँचाइ बाँसखर्कको सुन्तलाखेतीका लागि प्रमुख आवश्यकता देखिएको छ । बाँसखर्क प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सुन्तला जोनमा समेटिएको छ । तर जोनबाट पकेटको जस्तो पनि सुविधा नपाएको कृृषकले गुनासो गरेका छन् ।