बुटवल। बुटवलको रामनगरस्थित बुटवल मण्डपमा निर्माणाधीन अन्तराष्ट्रिय सम्मेलन केन्द्रको भवन निर्माणमा ढिलाइ भएको छ। ५ वर्षमा सक्नुपर्ने काम ७ वर्ष बितिसक्दा पनि ७७ प्रतिशत मात्र काम पूरा भएको हो।
पाँच वर्षमा निर्माण सक्ने गरी २०७१ माघ १५ मा बुटवल सम्मेलन केन्द्र निर्माणको काम शुरु भएको थियो। तर, सात वर्ष बितिसक्दासम्म सम्मेलन केन्द्रको काम अपुरै छ। सम्मेलन केन्द्र भवन निर्माणका लागि १ अर्ब ३ करोड रुपैयाँमा दुई चरणमा बाँडेर ठेक्का सम्झौता गरिएको थियो।
शहरी विकास तथा भवन निर्माण विभागले निर्माण थालेको सम्मेलन केन्द्रको रविना समानान्तर चन्द्रसूर्य जेभी निर्माण कम्पनीले पहिलो चरणको ठेक्का लिएको हो। काम नसकेपछि आयोजनाले विभिन्न कारण देखाउँदै म्याद थप्यो। शुरुमा निर्माणस्थलका रूख काट्ने अनुमति नपाउँदा करिब ६ महीना ढिलाइ भएको थियो।
अहिले पहिलो चरणको काम सकेर दोस्रो चरणको काम भइरहेको आयोजनाले जनाएको छ। पहिलो चरणमा मुख्य सभा हल अर्थात् राष्ट्रिय झन्डाको माथिल्लो भागको सूर्यअंकित शैलीमा निर्माण गरिएको छ। १ हजार १ सय क्षमताको सभा हलको भवन तयार भएको छ।
त्यसमा दुई वटा लेक्चर हल, ६ वटा मिटिङ हल, भीआईपी, भिडिओ अडियो, ट्रान्सलेटर लगायतका कक्षको स्टक्चर तयार पारिएको छ। त्यसमा २३ करोड रुपैयाँ खर्च भएको छ। सभाहलमा भौतिक संरचना निर्माणको काम सकिए पनि रंगरोगन र विद्युतीय तथा फनिर्सिङका काम बाँकी छन्। सभाहलभित्र जिप्सन, विद्युत र सीसीटीभी जडानको काम भइरहेको छ। १ हजार १ सय मानिस बस्न मिल्ने गरी कुर्सी जडान गरिँदै छ।