काठमाडौं। पाँचथरको याङ्वरक गाउँपालिकास्थित निशान कालिकाधाम र याङ्वरक पोखरी संरक्षण आयोजना निर्माण गर्न सुरु गरिएको छ। याङ्वरक–४ स्थित धार्मिक एवं ऐतिहासिक क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले आवश्यक पूर्वाधार निर्माण गर्न सुरु गरिएको हो।
कूल रु छ करोड ९४ लाख ६१ हजारको लागतमा निर्माण हुन लागेका ती आयोजना सांसद योगेश भट्टराईले शुक्रबार शिलान्यास गरेका छन्। उक्त आयोजनाका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ७० प्रतिशत तथा गाउँपालिकाको ३० प्रतिशत रकम ब्यहोरेका छन्।
आयोजनाअन्तर्गत निशान कालिकाधाम र याङ्वरक पोखरीे विस्तार एवं निर्माणसँगै बालउद्यान, विश्रामस्थल, धार्मिक तथा सांस्कृतिक महत्वका मूर्ति, माछा पोखरी र धारा, विश्रामस्थल तथा सेल्फी खिच्ने ठाउँ, स्थानीय संस्कृति, परम्परा तथा जनजीवन झल्कने मूर्ति, घण्टी, फूलबारी र पोखरीको दृश्य, नागको मूर्ति, मुख्य प्रवेशद्वार, याङ्वरक स्तम्भ, हतियारका आकृतिलगायत संरचना निर्माण हुने गाउँपालिकाकाले जनाएको छ।
नेपाल एकीकरणका क्रममा तत्कालीन पल्लोकिराँत लिम्बुवानअन्तर्गतका सुब्बाले प्राप्त गरेका श्रीजङ्गी र श्रीकम्फू निशान प्रदर्शन तथा संरक्षण गर्ने स्थल रहेको निशान कालिका धाम धार्मिक महत्वको क्षेत्र मानिएको छ। याङ्वरक पोखरीलाई लिम्बु समुदायले साँस्कृतिक एवं धार्मिक आस्थाको केन्द्रको रुपमा लिने गर्दछन्।