काठमाडौं। सुन्दरनगरी पोखरालाई थप व्यवस्थित र आर्कषण बनाउने काम सुरु भएको छ। प्रमुख पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न पोखरा महानगरपालिकाले नगरका ९ वटा ताल जोड्ने साइकलमार्ग निर्माणका लागि आवश्यक तयारी सुरु गरेको हो।
समुन्नत र समुद्ध पोखराका लागि महानगरले चालु आर्थिक वर्षमा साइकल मार्ग निर्माण गर्न रु ३० लाख बजेट विनियोजन गरेको छ। यसका लागि १८३ किलोमिटर साइकल ट्र्याकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भई रु ३५ करोडको लागतप्रक्षेपण गरिएको महानगरपालिकाले जनाएको छ।
पोखराका ९ ताल फेवा, रुपा, बेगनास, कमलपोखरी, खास्टे, न्युरेनी, गुँदे, दिपाङ, मैदी र अन्तर्राष्ट्रिय महत्वको रामसार क्षेत्रमा सूचीकृत भइसकेको अवस्थामा प्राकृतिक र सांस्कृतिक विविधताले युक्त पोखराको सौन्दर्य अवलोकनका लागि साइकल संस्कृति विकास आवश्यक रहेको बताइएको छ। यस विषयमा सरोकारवालाबीच छलफल भइसकेको र पहिलो चरणमा साइकलमार्गमा सङ्केत चिन्ह राख्ने काम सम्पन्न भइसकेको छ।
“अनुकुल मौसमदेखि हिमशृखङ्ला ताल तलैयाको अनुपम बरदान पाएको सहर हो पोखरा। विश्वका साइकलमार्गमध्ये यो पृथक खालको रहेको र यो मार्ग पोखराको गौरवको योजना भएकाले यसलाई निरन्तरता दिन त्रिवर्षीय योजनामासमेत समावेश गरिएको बताइएको छ। सातसयदेखि एक हजार ५०० मिटर उचाइमा साइकल चलाउँदै उत्तरतिर हिमशृङ्खला र दक्षिणतर्फ पोखरा उपत्यकाको मनोरम दृश्यावलोकन, तालमा साइबेरियादेखि आएका चराको झुण्ड हेर्दै र अन्तर्राष्ट्रिय विमानस्थल जहाजको उडान र अवतरणका दृश्यलाईसमेत यस साइकल ट्र्याकबाट हेर्न सकिन्छ।
पोखरा विभिन्न पर्यटकीय गन्तव्यको ‘गेट वे’सँगै प्रकृतिको स्वच्छतामा रमाउन पर्यटकको आगमन हुने र साइकलमार्गबाट पोखराको हिमशृङुखला, तालतलैयालगायत पोखरा उपत्यकाको सुन्दर दृश्यमा पर्यटकले भरपुर आनन्द लिन सक्ने भएकाले यस निर्माण कार्यलाई छिटोभन्दा छिटो सम्पन्न बताइएको छ।