पोखरा। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–१ देउपुरमा आवासीय वृद्धाश्रम निर्माण गरिने भएको छ। रु सात करोड ५३ लाख ७५ हजारको लागतमा सुविधायुक्त नाना मोहन आवासीय वृद्धाश्रम निर्माण गरिने भएको हो।
आमा स्मृति प्रतिष्ठानद्वारा निर्माण गरी सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको सो वृद्धाश्रमका लागि इमान फाउण्डेशन जर्मनीको रु पाँच करोड र बाँकी दुई करोड ५३ लाख ७५ हजार गाउँपालिका, आमा स्मृति प्रतिष्ठान तथा स्थानीय जनसहभागिता परिचालन गरिने भएको छ।
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले सो वृद्धाश्रमको हिजो शिलान्यास समारोहमा समाजका ज्येष्ठ नागरिकले पाउने नैसर्गिक अधिकारको सुनिश्चितताका लागि राज्य जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याए।
संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयन हुन नसक्दा समाजका ज्येष्ठ नागरिक, महिला, बालबालिका, असहाय एवं विपन्न वर्गलगायत प्राप्त उपलब्धिबाट वञ्चित रहेको उल्लेख गर्दै उनले मुलुकका मार्गदर्शक आमा बुबालाई सकेसम्म घरमै र विकल्पको रूपमा मात्र वृद्धाश्रममा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले पालिका विकास निर्माणसँगै सामाजिक सेवामा समर्पित हुँदै आएको उल्लेख गरे। वृद्धाश्रम सञ्चालनमा आएसँगै यस क्षेत्रका मात्र नभई मुलुककै वृद्धावृद्धले सुविधा पाउने विश्वास व्यक्त गरे।
वृद्धाश्रममा वृद्धालाई सःशुल्क आवासीय व्यवस्था गरिने आमा स्मृति प्रतिष्ठान माछापुच्छ्रेका अध्यक्ष हरिशचन्द्र लम्सालले जानकारी दिए।