मोरङ। विराटनगरका ३२ मुसहर परिवारले घर पाएका छन्। सामूहिक बस्ती विकास गर्ने उद्देश्यले विराटनगर महानगरपालिका–१९ धरमपुरामा निर्माण भएका नयाँ संरचनामा ३२ परिवारले आश्रय पाएका हुन्।
एकैनासले लहरै घर निर्माण गरिएका छन्। इँटा जडान गरी माथि टिनले छाएको छ। सिकुवा र आँगन ढलान गरेर पक्की बनाइएको छ। एक समान र उही आकारका घरले बस्ती निकै व्यवस्थित देखिन्छ। सफा आँगन, केटाकेटी खेल्ने फराकिलो ठाउँ अनि व्यवस्थित शौचालयको पनि प्रबन्ध भएको छ।
‘महानगर आवास’ योजनाअन्तर्गत विपन्न मुसहर समुदायका लागि विराटनगर महानगरपालिकाले बस्ती निमार्ण गरी समुदायमा हस्तान्तरण गरेको हो। स्थानीयवासीका अनुसार नयाँ घरमा सरेपछि अब सिङ्घीया खोलाको बाढीले उठिबास लगाउने हो कि भन्ने रत्तिभर पीर छैन।
एक परिवारका लागि दुई सुत्ने कोठा, एक भान्सा घर र शौचालयसहितको व्यवस्थित घर प्राप्त गरेको उनिहरुले बताए। महानगरपालिका सामाजिक विकास महाशाखाका प्रमुख पुनम दाहालले भनिन्, ‘घर नभएका विपन्न परिवारलाई लक्ष्य गरी ३२ घर निर्माण गरिएको छ। यसबाट सीमान्तकृत समुदायलाई सामुदायिक बस्तीको अवधारणाअनुसार बसाल्न सकिएको छ।’
‘खोला किनारका बस्ती हरेक वर्ष डुबेर हुने क्षति, तिनको व्यवस्थापनमा हुने ठूलो खर्च घटाउने उद्देश्यका साथ बस्ती योजना अघि सारेको बताइएको छ।
बस्ती विकासमा महानगरपालिकासँग हेबिट्याट्स फर ह्युम्यानिटी, जीवन विकास र सहारा नेपालले साझेदारी गरेका हुन्। भवन निर्माणको सबै खर्च हेबिट्याट्सले गरेको र महानगरले सडक तथा ढल निर्माणमा लगानी गरेको महाशखाले जनाएको छ।