काठमाडौं। खोटाङ जिल्लाको साकेला गाउँपालिका–३ खिदिमास्थित तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क (उद्यान) निर्माण गरिएको छ। दसवर्षे माओवादी जनयुद्धको विभिन्न समय तथा स्थानमा राज्यपक्षबाट मारिएका खोटाङका ७३ शहीदको संझनामा पर्यटकीयस्थल तावाभञ्ज्याङमा शहीद स्तम्भ पार्क निर्माण गरिएको हो।
पार्कमा खोटाङका प्रथम शहीद ठूलकुमार श्रेष्ठदेखि कर्मचारी आन्दोलनमा नेपाल प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका शहीद मनोज जोशीको नामसमेत समावेश गरिएको छ। नेकपा माओवादीको जिल्ला समिति सदस्य श्रेष्ठलाई तत्कालीन शाही नेपाली सेनाले गिरफ्तार गरी विसं २०५५ पुस २७ गते उदयपुरको तावाश्रीमा लगेर गोली हानी हत्या गरेको थियो।
शहीद जोशीलाई विसं २०४८ साउन १५ गते नेपाल प्रहरीले गोली हानेर हत्या गरेको थियो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारसँग भएको सम्झौता पूरा नभएको विरोधमा कर्मचारीले निकालेको शान्तिपूर्ण जुलुसमा सहभागी जोशीलाई दिक्तेलस्थित हेलिप्याडमा प्रहरीले हानेको गोली लागेर उनको मृत्यु भएको थियो। देश र जनताका लागि आफ्नो ज्यान आहुति दिने शहीदहरुको सम्मान र पर्यटकीयस्थल तावाभञ्ज्याङको प्रवद्र्धन गर्न पार्क निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।
“तावाभञ्ज्याङ प्राकृतिकरुपमै पर्यटकीयस्तल हो। यस ठाउँको प्रवद्र्धन गर्न विभिन्न संरचना निर्माण भइरहेको बताइएको छ। प्रदेश सरकारको क्रमागत योजनाअन्तर्गत यस वर्ष रु १५ लाखको लगानीमा शहीद स्तम्भ, पार्क र प्रवेशद्वार निर्माण गरिएको छ।
दसवर्षे जनयुद्धको समयमा माओवादीको सुरक्षित सेल्टर मानिने तावाभञ्ज्याङ नजिकै पाँचधारेमा विसं २०६२ असार ८ गते माओवादी र नेपाली सेनाबीच दोहोरो भिडन्त हुँदा माओवादीका कम्पनी कमान्डर सर्वधान राई ‘अग्नि’सहित १० जनाले ज्यान गुमाएका थिए। तावाभञ्ज्याङमा निर्माण गरिएको शहीद पार्कलाई बाह्रै महिना हराभरा बनाएर पर्यटकलाई आकर्षित गर्न पार्क वरिपरि व्यावसायिक रुपमा चिया बगानसमेत बनाइएको छ।
तावाभञ्ज्याङ टेम्केडाँडा जोड्ने मुन्धुम ट्रेल (पदमार्ग)को प्रवेशद्वार हो। खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङको पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाको ३०, प्रदेश सरकारको ३५ र स्विस सरकारको ३५ प्रतिशत अनुदान सहयोगमा पदमार्ग निर्माण गरिएको थियो।
समुन्द्री सतहदेखि करिब दुई हजार २०० मिटरको उचाइमा रहेको तावाभञ्ज्याङमा कृत्रिम ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन समेत तयार गरिएको छ। प्रदेश नं १ कै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ उक्त गाउँपालिकाले डिपिआर तयार पारेको हो।