काठमाडौं । नेपाल प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो, जहाँ आन्तरिकका साथै वर्षेनी हजारौँ विदेशी पर्यटक आएर घुम्ले र यहाँको प्रकृतिसँग रमाउने गर्छन् ।
पर्यटकबाट नै करोडौंको आम्दानी गर्न सक्ने भरपुर सम्भावना भएको नेपालमा पर्यटकका लागि आवश्यक पूर्वाधारको व्यवस्था नहुँदा हामीले खुसी साथ पर्यटकलाई घुमाएर स्वदेश फर्काउन सकिरहेका छैनौँ । जोखिमपूर्ण सडककै कारण पदयात्रा गर्ने पर्यटक लडेर, सवारी दुर्घटनामा परेर वर्षेनी सर्यौँले दुख खेपीरहेका छन् भने कतिपयले ज्यान पनि गुमाउने गरेको अवस्था सर्वविदितै छ ।
यी नै कुराहरुलाई मध्यनजर गर्दै पर्यटकलाई पदयात्राका लागि सहज बनाउने उद्देश्यले पर्यटन विभागले ‘ग्रेट हिमालयन ट्राइल’ नाम दिएर भैरवकुण्डदेखि पाँचपोखरी सम्मको पदमार्ग निर्माण तथा स्तारोन्नति गर्ने भएको छ ।
लामो समय कोरोना भाइरस संक्रमणको जोखिमका कारण घुमफिरका लागि ननिस्किएका आन्तरिक तथा बाह्य पर्यटक विस्तारै पर्यटकिय क्षेत्रको भ्रमणका लागि निस्कन थालेका छन् । कोभिडको जोखिम बिस्तारै कम हुँदै गएको र बाह्य पर्यटकका लागि पनि नेपालले घुम्न आउने अनुमति दिएसँगै देशका पर्यटकिय क्षेत्रमा पर्यटकको चहलपहल बढ्न थालेको छ । पदयात्रामा रुचि राख्नेहरु यतिबेला पाँचपोखरी पदमार्गमा प्रसस्त भेटिन्छन् ।
आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको गोसाइकुण्ड र आसपासका अन्य कुण्डको पदयात्रा गर्दै पाँचपोखरी यात्रामा निस्कने पदमार्गी पर्यटकको सहजताका लागि भैरवकुण्डदेखि पाँच पाखेरी पदमार्गमा पर्ने बन्जी–लिस्टीकोट–छधाम–भैरवकुण्ड–जोरपाटी तथा भैरवकुण–थेम्वाधाम–नेसाङ्ग पाटी–पाँच पोखरी खण्डको निर्माण तथा स्तारोन्नति हुने भएको हो । पदमार्ग बन्ने भएपछि जीर्ण पदमार्गबाट जोखिमपूर्ण पदयात्रा गर्नुपर्ने पर्यटकको बाध्यता हट्ने भएको छ ।
पदमार्ग निर्माण भएपछि पदयात्रा गर्ने आन्तरिकका साथै बाह्य पर्यटकको संख्या बढ्नुको साथै पर्यटकले यात्रामा सुरक्षाको अनुभुति गर्ने पर्यटन व्यवसायीको विश्वास छ । आफूहरुले यस विषयमा पटक पटक सरकारको ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएको भन्दै अब भने सरकारले राम्रो काम गरेको एक पर्यटन व्यवसायीले बताए ।
पाँचपोखरीको यात्रा गर्दा खराब सडककै कारण कतिपय ठाउँमा डराउँदै हिँड्नुपर्ने बाध्यता रहेको स्मरण गर्दै एक आन्तरिक पर्यटकले अब पदमार्ग निर्माण भएपछि फेरि एक पटक पाँचपोखरी पुग्ने इच्छा जागेको बताए । विकसित मुलुकले मानवनिर्मित पर्यटकिय स्थल निर्माण गरेर बाह्य पर्यटक भित्र्याउने रणनीति अपनाइरहेका छन् । तर नेपाल यस्तो मुलुक हो जहाँ सिंगो देशको सम्पूर्ण भूमाग पर्यटकीय गन्तव्यका लागि प्राकृतिकरुपमा नै योग्य छ । तर सामान्य पूर्वाधार समेत विकास गर्न नसक्दा हामी धेरै पछि परिरहेका छौँ ।
पाँचपोखरी यात्राका लागि निर्माण हुन लागेको यो पदमार्ग पर्यटकका लागि सुरक्षा महसुस गराउने साधन र देशका लागि राम्रो आम्दानीको स्रोत बन्ने विश्वास लिइएको छ ।