काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष एंव आगामी निर्वाचनका अध्यक्षका प्रत्यासी रवि सिंहले आफ्नो कार्यकालमा महासंघलाई सुद्धिकरण गर्न सफल भएको बताएका छन्। उनले यसअघि महासंघलाई ठेक्कापट्टा गर्ने संस्थाको रुपमा चिनिने गरेपनि आफूले यसलाई शुद्ध बनाउन सफल भएको दाबी गरेका छन्।
निर्माणपार्टीसँगको कुराकानीमा उनले भने, ‘महासंघलाई सुद्धिकरण गर्न म सफल भएको छु। यस अघि महासंघलाई ठेक्कापट्टा मिलाउने संस्थाको रुपमा चिनिन्थ्यो। अहिले कसैले पनि यस कुरामा औंला उठाउन सक्दैन। महासंघलाई नीति निर्माण गर्ने संस्थाको रुपमा चिनाएको छु। नीतिगत सुधार गरेर व्यवसायलाई मर्यादित बनाउने काममा महासंघ सफल भएको छ। तर कार्टेलिङ भने अझै रोकिन सकेको छैन।’
उनले आफूले शुरु गरेका केही काम विभिन्न समस्याका कारण पूरा गर्न नसकेको भन्दै ती प्रतिबद्धता पूरा गर्न आफू पुन महासंघको नेतृत्वमा दोहोरिन चाहेको बताए। सिंहले कोरोना महामारी, संसद अवरुद्ध, नेकपाभित्रको गुठबन्धि, एमसीसी लगायतका राष्ट्रिय समस्याका कारण आफूले चाहेजति काम पूरा गर्न नसकेको बताए। उनले भने, ‘निर्वाचित भएर आउँदा हामी जति उत्साहित थियौं त्यो सोचेजस्तो भएन। नेकपा भित्रको समस्याका कारण सार्वजनिक खरिद ऐन सदनमा पेस भएपनि छलफलमा आउन सकेन। नेकपा एमालेले सदन अझै पनि अवरुद्ध गरिरहेको छ, जसले गर्दा पूर्वाधारमैत्री, व्यवसायी मैत्री, विकास र जनतामैत्री सार्वजनिक खरिद ऐन ल्याउने प्रण गरेको थिएँ त्यसमा म सफल हुन सकेको छैन। ती काम पूरा गर्न म दोहोरिन चाहन्छु।’
सिंहले अहिले अध्यक्षको पद प्रति आकर्षित अन्य उमेदरवारले सार्वजनिक खरिद ऐन १७ हजार निर्माण व्यवसायीलाई सम्बोधन गरेर ल्याउने कुरामा सत प्रतिशत बल लगाउँछन् भन्ने कुरामा आफू विश्वस्त नभएको बताए।
उनले भने, ‘अन्य अध्यक्षका आकांक्षी साथिहरुले सार्वजनिक खरिद ऐन नियमावली समग्र निर्माण उद्योगमैत्री भन्दा पनि आफूमैत्री बनाउने प्रयत्न यस अघि पनि गरेका थिए।’ सिंहले आफूले निर्माण व्यवसायीको हितका लागि ल्याउन लागेका नीति नियममा उनका प्रतिस्पर्धी हालका महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे सन्तुष्ट नरहेको बताए। उनले भने, ‘ अध्यक्ष पदका आकांक्ष साथि निकोलस पाण्डेको कम्पनीबाट आएको अभिव्यक्तिबाट के देखिन्छ भने ११ औं संशोधनबाट उहाँहरु सन्तुष्ट हुनुहुन्न। एउटा कम्पनीले ५ वटा मात्र काम पाउने भन्ने कुरा, ८० प्रतिशतको अनुभव प्रमाणपत्रलाई ६० र ४० बनाएर प्रतिस्पर्धा बढाउने कुरामा उहाँहरु सन्तुष्ट देखिनु भएको छैन। कार्यसमितिमा बसेर कार्टेलिङको विरुद्धमा लाग्दा सहमति देखाएपनि उहाँहको कम्पनी कार्टेलिङमै संलग्न भएको छ। त्यसैले पनि मैले उहाँलाई विश्वास गर्न सकिन।’
सिंहले सार्वजनिक खरिद ऐन र नियमावलीको कमजोरीका कारणले गर्दा देशमा केही सिमित एक दर्जन भन्दा कम निर्माण कम्पनीको हातमा निर्माण उद्योग रहेको भन्दै त्यसलाई चिर्न लागि पर्ने बताए। उनले मुलुकको ८० प्रतिशत बजेको काम एक दर्जन कम्पनीको हातमा रहेको र यी कुरालाई चिर्न र समानुपातिक कामको वितरणका लागि सरकारलाई घचघच्याउने काम आफूले सक्दो गरेको बताए। सुझावले मात्र नभएपछि आन्दोलन नै गरेर धेरै काम अघि बढाएको तर त्यसको फल लाग्ने बेलामा आफूले छाड्न नमिल्ने बताए।