काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको २३ औं साधारण सभा तथा १२ औं अधिवेशन यही फागुन २७, २८ र २९ गते हुँदैछ। महासंघको साधारण सभा तथा अधिवेशन राजधानीको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको हो।
साधारण सभा तथा अधिवेशन कार्यक्रम प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन हुने महासंघले जनाएको छ।
बुधवार पत्रकार सम्मेलन गरी महासंघले साधारण सभा तथा अधिवेशनमा करीब १२ सय प्रतिनिधि र १२ सय पर्यवेक्षकको सहभागिता रहने जनाएको छ। साधारण सभाको उद्घाटन सत्रमा प्रधामन्त्री देउवाले महासंघको मुखपत्र निर्माण विशेषांकको विमोचन गर्ने कार्यक्रम तय गरिएको छ।
अधिवेशनले आगामी तीन वर्षका लागि महासंघमा नयाँ कार्य समिति चयन गर्नेछ। साधारण सभामा महासचिव एवम् कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरिनुका साथै सार्वजनिक हुने क्रममा रहेको सार्वजनिक खरिद नियमावलीको एघारौं संशोधन र व्यवसायीहरूका अन्य मागहरुका विषयमा व्यापक छलफल भई काठमाडौं घोषणापत्र जारी गरिने बताइएको छ।
अधिवेशन स्थल बाहिर निर्माण उद्योग सम्बन्धी विभिन्न संस्था एवं कम्पनीका ३० वटा स्टलहरू रहनेछन्।
पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको ११औं संशोधनले निर्माण उद्योगमा देखिएका समस्या समाधान गर्ने बताए। त्यसैगरी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले समस्याग्रस्त रहेको निर्माण उद्योग सुधारका लागि ११ औं संशोधन आवश्यक रहेको बताए।
पत्रकार सम्मेलनमा बढ्दो इन्धनको मूल्य र निर्माण सामाग्रीको मूल्यले निर्माण व्यवसायी समस्यामा परेको बताइएको छ। निर्माण व्यवसायीका समस्यालाई सरकारले नै वेवास्ता गरेको व्यवसायीहरुको भनाइ छ। मूल्यवृद्धिको समस्या समाधानका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई मूल्यवृद्धि निर्देशिका –२ तत्काल जारी गर्न महासंघले माग गरेको छ । मूल्यवद्धि नियन्त्रण र हालै जारी गरिएको बीमा सम्बन्धी निर्देशिका खारेज नभएमा निर्माण व्यवसायीहरू आफ्नो काम बन्द गरी आन्दोलनमा जाने चेतावनी समेत महासंघले दिएको छ।