काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष एवं आउँदो निर्वाचनका अध्यक्ष पदका प्रत्यासी निकोलस पाण्डेले जोइन भेञ्चरको काम आफ्नो भन्दा पनि वर्तमान अध्यक्ष रवि सिंहको बढी भएको आरोप लगाएका छन्। उनले आफूमाथि बढी ठेक्का लिने र जोइन भेञ्चरमा काम गर्ने आरोप लाग्दै आएको तर जोइन भेञ्चरकै काम हेर्ने हो भने वर्तमान अध्यक्षको एक सय भन्दा बढी रहेको दाबी गरेका हुन्।
उनले भने, ‘कसैले ठूलो काम गर्यो भनेर समस्या होइन कि आफूले नगर्ने काम पनि अरुलाई जोइन गरेर काम बेच्नु समस्या हो। कसैको क्षमताले ठूलो काम गर्न सक्छ भने त्यसलाई रोक्नु हुँदैन। जोइन भेञ्चरबाट आफूले नसक्दा नसक्दै अस्वस्थ प्रतिस्पर्धाबाट काम लिनु चै हुँदैन। यसले अरुलाई काम पनि नदिने र शुरु गरेर लथालिङ्ग पार्ने हुन्छ। त्यो हकमा हामी चैँ जथाभावि जेभीमा काम गर्दैनौँ। हिसाब नै गर्ने हो भने अहिलेको अध्यक्षको जोइन भेञ्चर मेरो भन्दा दुई तीन गुणा बढी छ। उहाँलाई मैले नै पनि दिएको छु। उहाँको जोइन भेञ्चर सय भन्दा बढी छ । हामी सबैभन्दा कम जोइन भेञ्चरमा काम गर्नेमा पर्छौँ। ठूला आयोजना छन् हामीसँग तर कम संख्यामा छन्।’
महासंघको नयाँ नेतृत्वका लागि आउँदो आइतबार हुँदै गरेको निर्वाचनमा सिंहसँग प्रतिस्पर्धा गरिरहेका पाण्डेले काम गर्ने पुरानो शैलाई परिवर्तन गर्नका लागि पनि आफू योग्य भएको बताएका छन्। उनले आधुनिक ढंगबाट सबै किसिमका निर्माण व्यवसायीहरुलाई मिलाएर न्यायसंगत रुपमा अघि बढ्नमा आफू भन्दा बाहेक अरु कोही नभएको दाबी समेत गरेका छन्।
पाण्डेले भने, ‘मेरो कार्यकालमा राजनीतिक अगुवासँग मात्र नभएर कर्मचारीतन्त्रलाई पनि विशेष ध्यान दिने नीति अवलम्बन गर्ने छु। हामीले बनाएका नीतिहरु कार्यान्वलयमा निकै चुनौती छन्। यस कार्यकालमा बिडिङ क्यापासिटि लागू गर्ने भन्ने नियम संशोधन गर्ने भनेका थियौँ जुन कार्यान्वलयमा आएन। त्यसलाई चाहिने प्रविधि हामी र सरकार दुवैसँग थिएन। । बजेट र जग्गा सुनिश्चित भएपछि मात्र आयोजना शुरु गर्ने भन्ने नीति अझै लागू हुन सकेको छैन। प्रत्येक निर्माण व्यवसायीलाई एक पटकमा ५ वटा भन्दा बढी काम दिनुहुँदैन भन्ने हाम्रो नीति कार्यान्वलयमा पनि म भूमिका निर्वाह गर्नेछु। यस्तै कुराहरुलाई लिएर म अध्यक्षका लागि उठ्दैछु।’
उनले निर्माण व्यवसाय क्षेत्रको हितको लागि आफू संघमा आउनु जरुरी रहेको बताएका छन्। उनले भने, ‘काम बढी पाउन, राजनीतिक पहुँच बनाउन अर्थात कुनै पार्टीको कुनै पदमा पुग्नलाई मलाई निर्माण व्यवसायी महासंघको मञ्चको आवश्यकता पर्दैन। म आफैं पनि नेपालको चर्चित र अग्रणी स्थानमा रहेको कम्पनी नेपालको कार्यकारी निर्देशक हो।’