काठमाडौं। धनुषाका स्थानीय तहले निर्माण गर्न लागेका अस्पताल शिलान्यासमै सिमित भएको छन्। तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देशका चार सय तहका आधारभुल अस्पताल एकसाथ शिलान्यास गरेका थिए।
चार सय स्थानीय तहमध्ये धनुषाका स्थानीय तहमा पनी अस्पताल शिलान्यास गरिएको थियो। तर ती अस्पताल शिलान्यासमै सिमित भएका छन्। सबैला, धनुषाधाम, क्षीरेश्वरनाथ, शहीद नगर, विदेह, मिथिला विहारी, हंशपुर नगरपालिका तथा औरही, बटेश्वरलगायतका गाउँपालिकाले १० देखि १५ शैयाका सुविधा सम्पन्न अस्पताल निर्माणका लागि शिलान्यास गरेका थिए।
धनुषाधाम नगरपालिकाले १५ शैय्याको अस्पतालका लागि फाउन्डेसन तयारी गरे पनि बाँकी स्थानीय तहले काम नै गर्नसकेका छैनन्। पहिलो चरणको काम सम्पन्न भई ठेकेदारको भुक्तानीसमेत भईसकेको छ भने, दोस्रो चरणको कामका लागि बजेटको सुनिश्चितता भएसँगै कामलाई गति दिने नगरपालिकाले जनाएको छ।
करिब १० करोडको लागतमा निर्माण हुने अस्पतालका लागि जग्गाको व्यवस्थापन गरी शिलान्यास भएको सबैला नगरपालिकाले जनाएको छ। अस्पतालको डिपीआर तयार भएपनी मेबिलाइजेसनको रकम नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नपठाउँदा कामलाई निरन्तरता दिन नसकेको नगरपालिकाले जनाएको छ।
हंशपुर नगरपालिकाले १० शैयाको अस्पताल निर्माणका लागि पटक–पटक टेन्डर गरिसकेको छ। तर मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण काम अगाडि बढ्न सकेको छैन। क्षीरेश्वर नगरपालिकाले १५ शैयाको अस्पताल निर्माणका लागि जग्गाको व्यवस्थापन गरेको छ। तर जग्गाको विषयमा नगरपालिका कार्यपालिकामै विवाद भएकाले अहिलेसम्म टेन्डरसमेत हुन नसकेको बताइएको छ।