काठमाडौं। चोभारमा निर्माण भएको सुख्खा बन्दरगाहको निर्माण कार्य सम्पन्न भएकाले सञ्चालनमा ल्याउन अन्तिम तयारी भइरहेको छ। बन्दरगाह सञ्चालनका लागि भन्सार कार्यालय, क्वारेन्टीन, बैंक, सुरक्षा निकाय लगायतका सम्बन्धीत निकायसँग छलफल भइरहेको र छिट्टै पुर्ण तयारीको साथ सञ्चालनमा ल्याउने कुरा नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यकारी निर्देशकले जानकारी दिइएका छन्।
उक्त बन्दरगाह सञ्चालनमा आएपछि काठमाडौंका व्यवसायीहरुले सिधैँ काठमाडौंमा सामान ल्याउनसक्ने र छिट्टै उपभोक्ताको माझमा पुर्याउन सक्ने साथै आयात निर्यातको मुल्य पनि घट्न सक्छ। हाल बन्दरगाह सञ्चालनको तयारी भइरहेको छ। काठमाडौंको चोभारस्थित २२० रोपनी जग्गाको क्षेत्रफलमा १ अर्ब ६० करोड रूपैयाँको लगानीमा सुख्खा बन्दरगाह निर्माण भएको हो।
उक्त बन्दरगाहमा सिसिटिभी र फायर फाइटर जडान गरिसकेको छ।बन्दरगाहभित्र ५०० वटा कन्टेनर राख्न सक्ने कन्टेनर यार्ड, २ वटा गेट, ३ वटा धर्मकाँटा, भन्सार, क्वारेन्टीन र प्रशासनिक गरि ३ वटा भवन, ३ वटा ठुला गोदाम, चेकजाँच गर्ने ३ वटा खुल्ला भवन, ५०० ट्रक व्यवस्थापन गर्न सकिने पार्किङ स्थलको निर्माण सम्पन्न भइसकेको कुरा कार्यकारी निर्देशकले बताएका छन्।
रसुवा र नेपालगञ्जमा सुख्खा बन्दरगाह निर्माणाधीन अवस्थामा रहेको छ। त्यस्तै तातोपानी, वीरगञ्ज, भैरहवा, काँकडभिट्टा र विराटनगरमा भने बन्दरगाह सञ्चालनमा रहेका छन्। भारत तथा चीनसँग सिमाना जोड्ने जिल्लाहरुमा मात्र सुख्खा बन्दरगाह सञ्चालनमा भएपनि भित्रि जिल्लामा भने चोभारमा निर्माण भएको सुख्खा बन्दरगाह पहिलो हो।