काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा गोदावरी भवनको उद्घाटन गर्न आउने भनेपछि गोदावरी नगरपालिका नजिकको भित्री सडक कालोपत्रे गरिएको छ। वर्षौँदेखि मर्मत नभएर नाजुक अवस्थामा रहेको सडक प्रधानमन्त्री आउने भएपछि एकै रातमा कालोपत्रे भएको हो।
ललितपुरको सातदोबाटो नजिकै चापागाउँ दोबाटोबाट सुनाकोठीको गेटबाट दक्षिणतर्फको सडकको अवस्था बेहाल छ। सडकमा भएका खाल्डाखुल्डी र मान्छे नै निसासिने गरी उड्ने धुलोले दैनिक यहि बाटो भएर हिँड्ने यात्रु हैरान हुन्छन्।
अत्यधिक धुलाका कारण सुनाकोठी र ठेचोका स्थानीयले पसलका सटर बन्द गरेर बसेका छन्। धुलो र खाल्डाखुल्डीका कारण सडकमा पैदलसमेत हिँड्न सकिने अवस्था छैन। सुनाकोठी, ठेचो हुँदै चापागाउँ प्रहरी वृत्तसम्म सडक भत्किएको छ। साँधुरो सडकमा खाल्डैखाल्डा छन्।
तर प्रधानमन्त्री शेरबहादुर देउवा गोदावरी नगरपालिकाको भवन उद्घाटन गर्न जाने भएपछि गोदावरी नगरपालिकानजिकको भित्री सडक भने कालोपत्र गरिएको छ। प्रधानमन्त्री त्यहाँ आउने भएपछि रातारात सडक कालोपत्र गरिएको हो।
‘प्रधानमन्त्री नगरपालिकाको भवन उद्घाटनमा आउने भएपछि रातारात नगरपालिकाले सडक कालोपत्रे गरेको छ, तर चार वर्षदेखि स्थानीयले सडक मर्मत र कालोपत्रे गर्न राखेको माग नगरपालिकाले पूरा गरेको थिएन,’ सुनाकोठीका एक स्थानीयले भने।
ललितपुर महानगरपालिका– २७ वडाका वडाध्यक्ष बाबुराज महर्जनले सडक फराकिलो पार्ने र कालोपत्रे गर्ने योजनामा माथिल्लो निकायले चासो नदिँदा समस्या हुँदै आएको बताए। उनले प्रधानमन्त्रीको अचानक त्यस क्षेत्रमा आगमन हुने भएपछि भत्किएको र खाल्डाखुल्डी सडकलाई केही मर्मत गरिएको बताए।
सडकको ठूला खाल्डाहरू पुरिएको छ। कतिपय ठाउँमा कालोपत्रे गरिएको छ। ‘वडा कार्यालयअगाडिको सडक बेहाल छ, मैले चार वर्षदेखि चाहेर पनि उक्त सडक बनाउन सकिनँ,’ उनले भने, ‘माथिल्लो तहका नेतालाई त नटेर्ने ठेकेदारले वडाध्यक्षलाई कहाँ टेर्थे ?’ उनले प्रधानमन्त्री आउने भएपछि सुनाकोठीदेखि बज्रबाराहीसम्मको सडक सहज बनाइएको बताए।
गोदावरी नगरपालिकाको नवनिर्मित भवन बज्रबाराहीमा पर्छ। सो क्षेत्रमा चापागाउँ क्षेत्र हुँदै त्यही खाल्डाखुल्डी परेको सडकबाट प्रधानमन्त्री प्रस्थान गर्नेछन्। तर, प्रधानमन्त्रीको सवारी हुने भएपछि उक्त सडक गएराति केही मर्मत गरिएको छ।
सुनाकोठीदेखि ठेचोसम्म ग्राभेल बिछ्याइएको छ। चापागाउँ क्षेत्रमा पनि भत्किएको र खाल्डाखुल्डी परेको सडकमा माटो राखेर सम्म पारिएको छ। मुख्य सडकमा खाल्डैखाल्डा भएपछि त्यसलाई हतारहतार ढाकछोप गर्न गोदावरीले बिहीबार राति डोजर प्रयोग गरेको थियो। नगरपालिकाले चापागाउँ हुँदै बज्रबाराही जाने भित्री करिब डेढ किलोमिटर सडक भने कालोपत्रे गरेको छ।
नयाँ पत्रिकाबाट