काठमाडौं। लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न भएको छ। मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले मैदानको पुनर्निर्माण सम्पन्न गरेको गरेर काठमाडौं महानगर–२६ लाई मैदान हस्तान्तरण गरेको हो।
विभिन्न सुविधासहित पुनर्निर्माण तथा स्तरोन्नतिपछि महानगरलाई मैदान हस्तान्तरणसँगै सर्वसाधारणका लागि खुला गरिएको छ ।
यो परियोजना महानगरको वडा नम्बर २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निर्माण तथा स्तरोन्नति गरिएको हो । नवनिर्मित बहुद्देश्यीय लैनचौर मैदान खुला गरिएको अवसरमा स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल आयोजना गरिएको थियो ।
५४ हजार ९२१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७ ‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिका खेल्ने क्षेत्र, ५० रुख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीजस्ता सुविधा छन् ।
स्थानीय समुदाय र वडा–२६ को आग्रहअनुसार एनसेलले मैदानको आगामी २ वर्षसम्म मर्मतसम्भार गर्नेछ । मैदानमा अन्तरराष्ट्रिय स्तरको एस्ट्रोटर्फ बिच्छ्याइ मिनी फुटबल मैदान बनाइएको छ । वातावरणीय पक्षलाई ध्यानमा राखी आवश्यक सबै प्रक्रिया अपनाएर एस्ट्रोटर्फ लगाइएको एनसेलले बताएको छ । टर्फमुनि जमिनका चारैतिर ३ फिट व्यास र १० देखि १५ फिट गहिराइका १३ वटा इनार बनाइएका छन् ।