काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा महादेव खिम्ति निर्माण सेवाका रवि सिंह विजयी भएका छन् भने महासचिवमा रोशन दाहाल निर्वाचित भएका छन्। प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार भएको निर्वाचनमा सिंह र दाहाल दुवै दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्।
सिंह ८०७ मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिस्पर्धी विद्यान्सी निर्माण सेवाका सञ्चालक एवं यस अघिका महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डेले ३४२ र हुमनाथ कोइरालाले ३२ मत प्रापत गरेका छन्।
महासचिवमा रोशन दाहाल ७१९ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु वासु उप्रेतीले २१२, शंकर चौलागाईंले १२४, रामशरण देउजाले ८८ र आनन्दप्रसाद अधिकारीले २४ मत प्राप्त गरेका छन्।
प्रदेश १ उपाध्यक्षमा मोहनप्रकाश अधिकारी, मधेश प्रदेश उपाध्यक्षमा शम्भु ठाकुर, बागमती प्रदेश उपाध्यक्षमा बालकृष्ण थापा, गण्डकी प्रदेश उपाध्यक्षमा खिमप्रकाश मल्ल, लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी, कर्णाली प्रदेश उपाध्यक्षमा रत्नबहादुर खड्का र सुदुरपश्चिम प्रदेश उपाध्यक्षमा प्रकाश बहादुर सेठी विजयी भएका छन् ।
उपमहासचिव (नीतिगत) मा शिवहरि घिमिरे विजयी भएका छन् भने उपमहासचिव (आन्तरिक) मा नरहरि थपलिया विजयी भएका छन् । कोषाध्यक्षमा हिरणकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा सन्तोष साह विजयी भएका छन् ।
महासंघको २३ औं साधारण सभा एवं १२ औं अधिवेशन गत शुक्रबारदेखि शुरु भएको थियो। अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति एवं सदस्यहरु चयनका लागि आइतबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन भएको थियो।
यस अघि समेत महासंघको अध्यक्ष रहेका सिंहले पहिलो कार्यकालमा आफूले प्रतिबद्धता गरेका केही काम गर्न बाँकी रहेकाले आफू पुन अध्यक्षमा दोहोरिन चाहेको बताउँदै आएका थिए। यसअघि महासचिव भएर एक कार्यकाल काम गरिसकेका महासचिव दाहालले पनि आफूहरु पुन महासंघमा नआए यति दुख गरेर ल्याएका नीति नियम स्थापित हुन नसक्ने भन्दै रवि सिंहको नृतत्व पुन आवश्यक भएको बताउँदै आएका थिए।