लमजुङ। अहिले चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको चाप बढ्दै गएको छ। कोरोना संक्रमणको जोखिम कम भएसँगै आउन थालेका पर्यटक केही दिन अघिदेखि भने अझै वृद्धि हुँदा यस पदमार्गमा पर्यटकको चाप बढ्दै गएको हो।
कोरोना संक्रमणका कारण पर्यटक आउन छोडेको यस पदमार्गमा कोरोनाको तेस्रो लहरको जोखिम कम भएसँगै दैनिक दुई चार जनामात्र आउन थालेकामा यतिबेला भने दैनिक ४०।५० भन्दा बढी पर्यटक आउन थालेको बताइएको छ।
पदमार्गमा अझै पर्यटक वृद्धि हुँदै जाँदा विगतका जसरी दैनिक चार पाँचसयभन्दा बढी पर्यटक आउने सम्भावना रहेको छ। यतिबेला पर्यटकको आगमन बढ्दा पर्यटन व्यवसायीको आम्दानीसमेत वृद्धि हुन थालेको छ।
पर्यटन व्यवसायीले भने, ‘पर्यटक आगमनमा कमी हुँदा आम्दानी नहुने चिन्तामा बसेपनि यतिबेला भने राम्रो आम्दानी हुँदै जाने सम्भावना देखिएको छ। विगतमा दैनिक ५०÷६० हजारभन्दा बढी आम्दानी हुन्थ्यो त्यसरी नै अब पर्यटक बढेमा आम्दानी हुने बढी सम्भावना छ।’
पर्यटकले हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नाका साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ जान र कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन्। प्रवेशद्वार लमजुङमा पर्ने अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी ५ वटा जिल्ला जोडिएको छ।