काठमाडौं। सिन्धुलीका नौवटै स्थानीय तह सडक सञ्जालसँग जोडिएका छन्। कमलामाई, दुधौली नगरपालिका र तीनपाटन, गोलन्जोर, फिक्कल, मरिण, सुनकोसी, घ्याङलेख र हरिहरपुरगढी गाउँपालिका सडक सञ्जालसँग जोडिएका हुन्।
नौ स्थानीय तहका ७९ वडामध्ये अधिकांशमा सडक पुगेको छ। दुधौली नगरपालिकाको १४ वटै वडामा सडक पुगेको बताइएको छ। मदन भण्डारी राजमार्गसँग धेरै वडा जोडिएका छन्। ग्रामीण भेगका वडामा पनि सडक विस्तार भइसकेको छ। राजमार्गले वडा नम्बर १, २, ३, ४, ५, ७, ८, ९ र १० नम्बर वडालाई छोएको बताइएको छ। साथै नगरका वडाभित्र स्थानीय सरकार, प्रदेश र संघको सहयोगमा कालोपत्रे सडकसमेत निर्माण भएका छन्।
एडीबीको सहयोगमा वडा नम्बर १० र वडा नम्बर १३ जोड्ने सडक कालोपत्रे भएको छ। साथै वडा नम्बर ३ बाट वडा नम्बर ६ जोड्ने पनि कालोपत्रे सडक निर्माण भएको छ। नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर काम गरेको हो। गाउँपालिकाको ११ वटै वडामा सडक विस्तार भएको बताइएको छ। सडकले जोडिएका वडामा त्यहाँ उत्पादन भएका वस्तु बजारीकरण गर्न सजिलो भएको छ।
कमलामाई नगरपालिकाको १४ वटै वडामा सडक विस्तार भएको छ। ग्रामीण भेगमा विस्तार भएको सडकमा भने बर्खाको समयमा बन्द हुदाँ स्थानीयले सास्ती खेप्नु परेको गुनासो गरेका छन्। मरिण गाउँपालिकाको पनि सबै वडामा सडक विस्तार भएको मरिण गाउँपालिकाले बताएको छ।