दाङ। जिल्लामा तीन वर्षको अवधिमा प्रदेश सरकारबाट १२ किलोमिटर सडक कालोपत्रे भएको छ। १२ किलोमिटर सडक सँगै चारवटा पक्की पुल पनी निर्माण गरिएको हो।
२०७५ साल मंसिर महिनामा कार्यालय स्थापना भएपछि गाउँपालिकाको पहुँचमार्ग अन्तर्गत जिल्लाका विभिन्न ठाउँमा पक्की पुल, सडक र झोलुंगे पुल निर्माणको काम गर्दै आएको छ। जसअन्तर्गत अहिलेसम्म चारवटा पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ। अरु बाँकी आठवटा पुल निर्माणका क्रममा रहेको र दुईवटा पुल यसै वर्ष निर्माण हुने बताइएको छ।
कार्यालयले बबई नदीअन्तर्गत नैनवार–बेलहरी लगायतका स्थानमा पुल निर्माण भएका छन् भने घोराहीको कटुवा खोला, सिस्ने खोलागायतका स्थानमा पुल निर्माणाधीन छन्। जिल्लामा ग्रामीण सडकको विस्तारसँगै विकास गर्ने क्रममा कार्यालयले विभिन्न स्थानमा गरी १२ किलोमिटर सडक कालोपत्रे गरेको छ।
पक्की नाला र फुटफाथसँगै कार्यालयले घोराहीको सर्रा–सौडियार, बिपी राजमार्गअन्तर्गत लक्ष्मीपुर–सिमलतारालगायत जिल्लाका १० वटै स्थानीय तहमा सडक कालोपत्रे गरेको छ। सडकको पहुँज नभएको स्थानमा नयाँ ट्रयाक खन्नेदेखि साँघुरो सडक भएको स्थानमा सडक विस्तार गरेर सडक कालोपत्रे गर्ने काम भइरहेको बताइएको छ। जसमा अहिलेसम्म १२ किलोमिटर ग्रामीण सडक कालोपत्रे गरिएको छ।
त्यसैगरी ४० किलोमिटर सडक चौडा गर्ने, २० किलोमिटर सडक विस्तारसँगै रोलिङ गरेर ग्राभेल गरिएको छ। यसरी करिब तीन वर्षको अवधिमा करिब सवा करोड बजेट खर्च भएको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ। यसवर्ष १ सय ५६ सडक तथा पुलका योजनामा काम भइरहेको छ।
जसमा १७ वटा योजना एक करोडभन्दा बढी भएकाले बहुवर्षीय योजनाअनुसार काम भइरहेको र बाँकी १ सय ३९ वटा योजना यही आर्थिक वर्षमा सक्ने गरी काम भइरहेको सडक पूर्वाधार विकास कार्यालयले जनाएको छ।