काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधन पारित भएको ७२ घण्टा बितिसक्दा पनि राजपत्रमा प्रकाशित नहुनुमा धेरै कुराको शंका रहेको बताएका छन्।
दोस्रो कार्यकालका लागि आइतबार महासंघको अध्यक्षमा निर्वाचित भएका सिंहले सपथ ग्रहणपछि बोल्दै ११ औं संशोधन चाँडै राजपत्रमा प्रकाशित गर्न र कार्यान्वयमा ल्याउन सरकारलाई आग्रह गरेका हुन्।
उनले भने, ‘खरिद नियमावलीको ११ औं शंसोधन पारित भयो भन्ने सुनियो तर अहिलेसम्म पनि राजपत्रमा नआएका कारण शंका गर्ने ठाउँ धेरै छन्। ११ औं संशोधन पारित भएको भनिएको ७२ घण्टा बितिसक्दा पनि किन राजपत्रमा आएन? कतै हाम्रो साधारण सभा बन्द शत्र आन्दोलनमा परिणत हुन्छ भनेर आएको घोषणा मात्र हो? निर्माण क्षेत्र समस्या ग्रस्त छ। मुलुकमा कामको समानुपातिक अवसर छैन भनेर हामीले गरेको अनुरोध अनुसार एउटा निर्माण व्यवसायीले ५ वटा काम मात्र गर्न पाउने प्रमुख एजेण्डा रहेको ११ औं संशोधन आज ७२ घण्टा बढी हुँदा पनि प्रकाशित भएको छैन। यसलाई चाँडै प्रकाशित गरिदिन र कार्यान्वयनमा ल्याउन आग्रह गर्छु।’
उनले निर्वाचनका समयमा विभिन्न प्यानल बनाएर प्रतिस्पर्धा भएपनि निर्वाचनपछि भने सबै निर्माण व्यवसायीको एउटै प्यानल र एउटै उद्देश्य रहेको बताएका छन्। उनले आफूले अघिल्लो कार्यकालमा पनि सबै निर्माण व्यवसायीको हित हुने गरी काम गरेको र अब पनि साना ठूला सबै निर्माण व्यवसायीको हितका लागि काम गर्ने बताए।
देशभरबाट प्रतिनिधि भएर आएका मतदाताले आफूलाई विश्वास गरेको भन्दै उनले निर्माण व्यवसायीको शिर झुक्ने काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार भएको निर्वाचनमा सिंह दोस्रो कार्यकालका लागि महासंघको अध्यक्ष पदमा निर्वाचित भएका हुन्। वरिष्ठ उपाध्यक्षमा आङदोर्जी लामा (एडी) निर्वाचित भएका छन्।
यसैगरी एसोसियट उपाध्यक्षमा रामजी पन्त, प्रदेश नं १ बाट मोहनप्रसाद अधिकारी, मधेश प्रदेशबाट शम्भु ठाकुर, बागमतीबाट बालकृष्ण थापा, गण्डकीबाट खेमराज मल्ल र लुम्बिनी प्रदेश उपाध्यक्षमा टोपबहादुर रायमाझी निर्वाचित भएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा क्रमश रत्नबहादुर खड्का र प्रकाशबहादुर सेठी निर्विरोध चयन भएका छन्।
महासचिवमा रोशन दाहाल दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। उपमहासचिव (नीतिगत)तर्फ शिवहरि घिमिरे र उपमहासचिव (आन्तरिक) तर्फ नरहरि थपलिया निर्वाचित भएका छन्। यसैगरी कोषाध्यक्ष र सह–कोषाध्यक्षमा क्रमशः निरान श्रेष्ठ र सन्तोष साह निर्वाचित भएका छन्।
निर्वाचित सम्पूर्ण कार्यसमिति सदस्यहरुले सोमबार दिउँसो थापा गाउँ ब्यांक्वेटमा आयोजित कार्यक्रममा सपथ ग्रहण गरेका छन्।