काठमाडौं। उत्तरी रसुवामा निर्माणाधीन माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत्गृहको उपकरण जडान गर्ने काम सुरुआत भएको छ। आमाछोदिङ्मो गाउँपालिका–५ सिम्बु क्षेत्रलाई आधार इलाका बनाइ १४ दशमलव आठ मेगावाट क्षमताको सो आयोजनाको आवश्यक उपकरण दोङ्फाङ नामक चिनियाँ ठेकेदार कम्पनीले जडान गरिरहेको हो।
कार्यस्थलमा १० चिनियाँसमेत २५ दक्ष प्राविधिक जनशक्ति परिचालन भइरहेको साञ्जेन जलविद्युत् कम्पनीले जनाएको छ। सो आयोजनामा आगामी २०७९ असार मसान्तभित्र उपकरण जडान सम्पन्न गरी परीक्षण गर्ने लक्ष्य राखिएको बताइएको छ।
केही दिनअगाडि विद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका नेपाल विद्युत् प्राधिकरणका नायब कार्यकारी प्रमुख माधव कोइरालाले माथिल्लो तथा तल्लो साञ्जेन दुवै स्थानको उपकरण जडानकार्य सन्तोषजनक तवरले अगाडि बढिरहेको जानकारी दिए। यस्तै ४२ दशमलव पाँच मेगावाट क्षमताको तल्लो साञ्जेन जलविद्युत् आयोजनाको विद्युत्गृहमा समेत एउटै प्राविधिक समूहले आलोपालो उपकरण जडान गरिरहेको बताइएको छ।
कोभिड सङ्क्रमणको कारण दर्शाउँदै उपकरण जडानको जिम्मा लिने चिनियाँ ठेकेदार कम्पनी कार्यस्थलमा ढिलै पुगे पनि निरन्तर काम भइरहँदा तल्लो साञ्जेन आयोजनाबाट अबको एक वर्षमा विद्युत् उत्पादन गर्न सकिने अपेक्षा गरिएको आयोजनाले जनाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत मङ्सिर ११ गते गर्नुभएको रसुवा भ्रमणबाट उपकरण जडानमा ठूलो मद्दत पुगेको छ।
सन् २०१३ बाट सुरु भएको साञ्जेन जलविद्युत् आयोजनामा पटक–पटक प्रमुख फेरबदल भइरहनु, सुरूङ निर्माणको जिम्मा पाउने ठेकेदार कम्पनीप्रति निरन्तररूपमा लगनशील गराउन नसक्नुजस्ता कारण निर्माणमा ढिलाइ भएको र आयोजनाले पूँजीवापत लिएका ऋणको ब्याजसमेत बढ्दै गएको स्थानीय बासिन्दाले बताएका छन्।
कर्मचारी सञ्चयकोष तथा नागरिक लगानी कोषको ऋणबाट ब्याजसमेत रु दुई अर्ब ६४ करोडको लागतमा पहिलो चरणअन्तर्गत २० मेगावाट क्षमतामा उत्पादित बिजुली तत्कालीन समयमा कुलमान घिसिङ चिलिमे कम्पनीको प्रबन्ध निर्देशक हुँदा दुई मेगावाटको स्तरवृद्वि गराइ २२ मेगावाट क्षमतामा कायम गरिएको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ।