काठमाण्डौं। सर्लाहीमा स्थापना हुने नयाँ उद्योगका लागि तथा स्थानीयस्तरमा सहजरुपमा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको नवलपुर सवस्टेशन सञ्चालनमा आएको छ। सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी क्षमताको सवस्टेशन हिजोदेखि सञ्चालनमा ल्याइएको हो।
सहज विद्युत् आपूर्तिका लागि भौतिक पूर्वाधारको विकासमा जोड दिँदै आएको सरकारले मधेश प्रदेशमा पनि उत्तिकै प्राथमिकताका साथ काम गरिरहेको छ। सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा व्यवस्थित बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सवस्टेशन हिजो ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेकी हुन्।
उनले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभई खाना पकाउन, सिँचाइ गर्न, उद्योग तथा कलकारखाना चलाउनका लागि प्रयोग गर्ने विद्युत्को खपत बढाउन आग्रह गरेकाछन। अहिले हामी वार्षिक दुई खर्बभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौं।
सवस्टेशनबाट विद्युत् आपूर्ति हुन थालेपछि यस क्षेत्रका बासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत् पाउन थालेको बताइएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मधेश प्रदेशको विद्युत् आपूर्ति सुधार गर्न अहिले सवैभन्दा बढी लगानी भइरहेको उल्लेख गर्दै त्यसवाट आफ्नो आम्दानी घटाएर भए पनि सिँचाइ, औद्योगिक, खानेपानी लगायत आम घरायसी ग्राहकलाई महसुलमा सहुलियत दिइएको बताए।
मधेश प्रदेशमा विद्युत् चुहावट बढी नै हुने गरेकाले चुहावट नियन्त्रणमा सहयोग गरिदिन सबैलाई आग्रह गरे। सवस्टेसनमा विद्युत् आपूर्ति सुरु भएपछि सर्लाहीको विद्युत् आपूर्ति भरपर्दो हुनाका साथै चुहावट पनि घटेको छ।
पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनको नवलपुर सवस्टेसनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) छ। यही १३२ केभी लाइनबाट नवलपुर सवस्टेशनमा विद्युत् आपूर्ति दिइएको छ। सवस्टेशनमा १३२/३३ केभी, ६३ एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका दुईवटा ट्रान्सफर्मर राखिएको छ। यही सवस्टेशन मार्फत सर्लाहीका हरिपुर र मलङ्गवा ३३/११ केभी वितरण सवस्टेसनमा विद्युत् आपूर्ति दिइएको छ।