धनुषा। मधेस प्रदेशमा खाना पकाउन एलपिजी ग्यासको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्दै विद्युतीय चुलोलाई प्रोत्साहित गर्ने अभियान शुरु भएको छ।
खाना पकाउन बढ्दो एलपीजी ग्यासको प्रयोगका कारण सुरक्षा जोखिम बढ्नाका साथै आर्थिक नोक्सानी समेत बढेको भन्दै नेपाल इनर्जी फाउन्डेशनले विद्युतीय चुलोलगायत वैकल्पिक ऊर्जाको प्रवर्द्धन गर्न अभियान शुरु गरेको हो।
एलपिजी ग्यासको तुलनामा विद्युतीय माध्यमबाट खाना बनाउँदा आर्थिक र स्वास्थ्यको दृष्टिकोणले समेत उपयुक्त भएकाले त्यो सन्देशलाई ग्रामीण भेगसम्म पुर्याउन अभियान शुरु गरिएको नेपाल इनर्जी फाउन्डेशनका सचिव डिल्ली घिमिरेले बताए।
अभियानका क्रममा खाना पकाउन सफा ऊर्जाका बारेमा जनचेतनामूलक कार्यक्रम, खाना पकाउने वैकल्पिक ऊर्जाको खोजी गर्ने, घरभित्रको धुवाँ हटाउने कार्यक्रम तर्जुमा गर्ने, खाना पकाउने सफा प्रविधिमाथि सर्वसाधारणको पहुँच सुनिश्चित गर्न अनुदान, सहुलियत ऋण तथा वित्तको व्यवस्था गर्ने योजना रहेको सचिव घिमिरेले बताए ।
बर्सेनि खाना पकाउने ग्यासका लागि मात्र जम्मा आयातको २ दशमलव ५ प्रतिशत रकम नेपालले भुक्तानी दिँदै आएको जानकारी दिँदै ऊर्जा विज्ञसमेत रहेका घिमिरेले खाना पकाउने सफा ऊर्जाका विभिन्न विकल्पहरुसहितका प्रविधिहरु बजारमा उपलब्ध भएको अवस्थामा स्थानीय आवश्यकता र उपलब्धताका आधारमा स्वच्छ ऊर्जाको प्रयोगमा जोड दिनुपर्ने बताए।
खाना पकाउने ऊर्जा स्रोत, प्रविधिलाई आधुनिक र सफा बनाउँदा उपभोक्ता स्वयम्, समुदाय र राज्य समेतलाई फाइदा पुग्ने दाबी गर्दै उनले सफा खाना पकाउन विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहित गर्न सकिए वातावरण र वायु प्रदूषणमा कमी आउने तथा त्यसबाट मानव स्वस्थ्यमा समेत असर नपुग्ने बताए।