काभ्रे। काभ्रेको पनौती नगरपालिका– ६ र ७ को सङ्गमस्थल त्रिवेणीघाटमा बाह्रवर्षमा लाग्ने मकर मेलाको लागी पुर्वाधार निर्माण भईरहेको छ। मेला लाग्न लगभग चार महिना मात्रै बाँकी छ। नगरपालिकाबाट रु पाँच करोड बजेट मेला व्यवस्थापन एवं संरचना निर्माणका लागि विनियोजन गरी प्रवेशद्वार निर्माण, पुन्यमाता खोलामा बहने ढल व्यवस्थापन, अस्थायी शौचालय निर्माण, सरसफाइलगायत काम गरिएको नगरपालिकाले जनाएको छ।
पुरातात्विक महत्वको मन्दिरै मन्दिरको सहर काभ्रेपलाञ्चोक जिल्लाको पनौतीमा बाह्र वर्षमा लाग्ने मकर मेलाका लागि बेहुली झैँ सिँगारिने भएको छ। मेला भर्न आउने भक्तजन हरुको लागी नगरपालीका र स्थानीयले सक्दो तयारी गरिरहेका छन्।
हाल पूर्वाधार निर्माणको काम अन्तर्गत पुण्यमाता र रोशी खोलामा तीन बेलीब्रिज, नदीमा स्नानका लागि सिँढी, पानी ट्याङ्की, पैदलमार्ग र सवारीसाधनको वैकल्पिक मार्ग निर्माण गर्नाका साथै खोलालाई सुरक्षित राख्न ढल निकासको काम भइरहेको छ। पुर्वाधारको काम सकिनासाथ तिहार लगत्तै आवश्यक थप कामका लागी योजना बनाउने नगर प्रमुखले बताउनु भयो।
उहाँका अनुसार मेला तयारीका लागि गत आर्थिक र चालू आर्थिक वर्षमा गरी जम्मा रू आठ करोड निकासा गरी काम भइरहेकोे र यसका साथै सहरी विकास मन्त्रालयले रू एक करोड भन्दा माथी निकासा गरी खोला किनारामा सिँढी निर्माण र त्रिवेणीघाटलगायत आसपासमा सोलार बत्ती जडान गरिएको उनले बताए।
स्थानीयका अनुसार मेला व्यवस्थापन गर्दा पहिला फोहोर व्यवस्थापनमा प्राथामिकता दिनुपर्नेछ। विगतमा खानेपानी आइरहने खोलामा हाल ढल मिसाएको कारणले गर्दा पानी खान सक्ने अवस्था रहेको छैन। विगतको जस्तै खोला हराभरा र सफा बनाउन स्थानीय सरकारले ध्यान दिनुपर्ने उनिहरुको भनाइ रहेको छ। बजेट पाएर काम गरेको भने पनि कहाँ कसरी काम भइरहेकोे छ भन्ने कुराको प्रष्ट जानकारीसमेत नदिएको भन्दै स्थानीयले गुनासो गरे।