काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद नियमावलीको ११औँ संशोधन नसच्याए ‘निर्माण होलिडे’ मनाउने चेतावनी दिएको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी नियमावलीमा संशोधन नगरिए निर्माण होलिडेलगायत विरोधका कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएको हो।
श्रम सहकारीका नाममा उपभोक्ता समितिलाई काम दिएर कर नतिर्ने गरी राज्यकोषको दुरुपयोग गर्न खोजिएको महासंघका अध्यक्ष रवि सिंहले बताए । उनले भने, ‘स्थानीयस्तरमा रोजगारी सृजना गर्न खोजिएको भए पाँच करोड रुपैयाँसम्मको कामको प्रतिस्पर्धा ‘घ’ वर्गका निर्माण व्यवसायीले मात्र ठेक्का हाल्न पाउने गरी व्यवस्था गरौँ, श्रम सहकारीका माध्यमबाट काम गर्ने व्यवस्था साना निर्माण व्यवसायीको काम खोस्ने नियतबाट प्रेरित भएकाले सच्याइनुपर्छ।’
नियमावलीमा ११औँ संशोधनले गरेका व्यवस्थाका विषयमा छलफल गर्न महासंघको राष्ट्रिय भेला आगामी १४ चैतमा काठमाडौँमा बोलाइएको छ । यसअघि प्रधानमन्त्रीलगायत सरोकारवाला मन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाउन लागिएको छ ।
हाल बजारमा निर्माण सामग्री बिटुमिन, नदीजन्य सामग्री, सिमेन्ट, फलामजन्य सामग्री (छड, पाता, आइरन, ब्लेड), पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल, मट्टीतेल) लगायतमा असामान्य मूल्यवृद्धि भएकाले नियन्त्रण नभएसम्म पनि निर्माण ‘होलिडे’ गर्न बाध्य हुनुपर्ने अवस्था आएको अध्यक्ष सिंहले बताए ।