ललितपुर। पुल्चोकस्थित हरेक वर्ष रातो मच्छिन्द्रनाथको रथ निर्माण गर्ने केही पर रहेको दुईसय वर्ष पुरानो इतिहास बोकेको समय् फल्चाको पुनःनिर्माण सम्पन्न भएको छ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुल्चोक टोल सुधार समितिद्वारा आज यहाँ आयोजित एक कार्यक्रमका बीच सो फल्चाको शिलालेखको अनावरण गरे। उक्त अवसरमा प्रमुख महर्जनले आफूले हालसम्म ७५ पाटी निर्माण सम्पन्न गर्न सफल भइसकेको जानकारी दिए।
उनले भने, “हामीले गत २०५७ सालमा समय् फल्चा पुनःनिर्माण समिति गठन गरी यसलाई अघि बढाउन लाग्दा विभिन्न अवरोध एवं आरोह खेप्नुपर्यो। २०६५ सालमा यस फल्चा महत्वपूर्ण छ भनेर सर्वोच्च अदालतले निर्णय गरिदिएपछि निर्माण प्रारम्भ गर्न खोज्दा अर्का सातवटा मुद्दा खेप्नुपर्यो।”
महानगरपालिका–३ का वडाध्यक्ष श्रीगोपाल महर्जनले सो पाटी निर्माण सम्पन्न गर्न सक्नु आफूहरुका लागि एक युद्ध जिते सरहको आवास भइरहेको जिकिर गरे। उनले भने, “हामी नेवार सोझा भएर २०३८ सालमै दर्ता गर्नुपर्ने फल्चाको काम अघि बढाएनौँ र पछि विभिन्न अवरोध खेप्नुपर्यो तर पनि सत्यकै अहिले जीत भएको छ ।”
सम्पदाप्रेमीका सहयोग र संरक्षणमा सो फल्चा पुनःनिर्माण सम्पन्न गर्न सफल भएको बताइएको छ। प्राचीनकालदेखि रहेको सो फल्चा पहिलोपटक २०२९ सालमा भत्केको थियो। उक्त फल्चा एक आनाभन्दा बढी जग्गामा महानगरपालिकाले दिएको रु २९ लाखमा केही थप गरी निर्माण सम्पन्न गरिएको बताइएको छ।
उक्त पार्टीमा बसेर नेवार समुदायका मानिसले समय्बजी खाने भएकाले सोलाई समय् फल्चा वा समय दिने पाटी भनिएको हो। पाँच दशकअघि मासिएको, रातो मच्छिन्द्रनाथको जात्रासँग जोडिएको फल्चा फेरि बनेपछि स्थानीयवासी खुसी भएका छन्।